काठमाण्डु – भारतको राजधानी दिल्लीमा अनशन बस्दै आएका सामाजिक अभियानकर्मी सोनाम वाङ्चुकलाई शनिवार सबेरै प्रहरीले अस्पताल पुर्याएको छ ।
विगत २० दिनदेखि दिल्लीस्थित जन्तर मन्तरमा आमरण अनशनमा रहेका वाङ्चुकलाई प्रहरीले जवरजस्ती सफदरजङ्ग अस्पताल पुर्याइएको हो।
नीट परीक्षामा भएको भनिएको अनियमितताविरुद्ध उनको आमरण अनशन २१औँ दिनमा प्रवेश गरेको छ। कक्रोच जनता पार्टी सीजेपीका संस्थापक अभिजित दीपकेलाई पनि प्रहरीले नियन्त्रणमा लिएको छ।
कक्रोच जनता पार्टीका प्रवक्ता सौरभ दासले दिल्ली प्रहरीले अभिजित दीपकेलाई उनी बसेको स्थानबाट नियन्त्रणमा लिएको भनी सामाजिक सञ्जाल एक्समा पोस्ट गरेका छन्।
दिल्ली प्रहरीले भनेको छ, ‘दिल्ली उच्च अदालतको आदेश र विशेषज्ञ चिकित्सकहरूको सल्लाहबमोजिम स्वास्थ्य अवस्था बिग्रँदै गएकाले सोनाम वाङ्चुकलाई आवश्यक उपचारका लागि अस्पताल लगिएको छ ।’
उच्च अदालतको आदेशको पालना गर्ने क्रममा प्रदर्शनकारीहरूले अवरोध सिर्जना गर्ने प्रयास गर्दा केही समय अवस्था अलि अस्तव्यस्त बनेको थियो । तर प्रहरीले उच्च संयम अपनाउँदै सबै प्रक्रिया सुरक्षित रूपमा पूरा गर्यो। ‘हामी जन्तर मन्तरमा उपस्थित प्रदर्शनकारीहरूलाई उक्त स्थान शान्तिपूर्ण रूपमा र अविलम्ब खाली गर्न आग्रह गर्छौँ,’ प्रहरीले भनेको छ।
दिल्ली उच्च अदालतले सोनाम वाङ्चुकको स्वास्थ्य अवस्थाको निगरानी गर्न सरकारलाई निर्देशन दिएको थियो। उक्त विरोध प्रदर्शनमा अदालतले हस्तक्षेप गरेको यो पहिलो पटक थियो।
अभियानकर्मी वाङ्चुकको अवस्था गम्भीर हुनुभन्दा पहिले उनलाई जबरजस्ती खुवाउन माग गरिएको निवेदनमाथि सुनुवाइ गर्दै दिल्ली उच्च अदालतका दुई न्यायाधीशको इजलासले चिकित्सा परामर्शका आधारमा आवश्यक कदम चाल्न अधिकारीहरूलाई निर्देशन दिएको थियो।
अदालतको उक्त आदेश जुलाई २० का लागि सीजेपीको प्रस्तावित प्रदर्शनभन्दा केही दिनअघि मात्र आएको हो। सीजेपीले अनशन स्थलदेखि भारतीय संसद् भवनसम्म प्रदर्शन गर्न आह्वान गरेको हो।
प्रस्तावित विरोध प्रदर्शनको उद्देश्य शिक्षामन्त्री धर्मेन्द्र प्रधानको राजीनामा र परीक्षा प्रणालीमा सुधारसम्बन्धी मागलाई अझ सशक्त बनाउनु रहेको सीजेपीको तर्क छ।
यसबीच दिल्ली पुलिसले वाङचुकलाई धर्नास्थलबाट यठाएर अस्पताल लगेपछि सीजेपीका संस्थापन अभिजीत आफैं भोक हडतालमा बसेका छन् ।
सीजेपीको एक्स ह्यान्डलमा लेखिएको छ, ‘अभिजीत दीपके अनिश्चितकालीन अनशनमा बसेका छन् । २० जुलाईका लागि चय गरिएको ‘चलो संसद्’ मार्च पूर्वानिर्धारित कार्यक्रमअनुसार जारी रहने छ ।’




प्रतिक्रिया