बाढी र पहिरोका कारण यी राजमार्गहरू अवरुद्ध (सूचीसहित)

बाढी र पहिरोका कारण यी राजमार्गहरू अवरुद्ध (सूचीसहित)

केही स्थानमा राति सवारी चलाउन रोक

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – लगातार भइरहेको वर्षा र त्यसपछि आएको बाढी तथा पहिरोका कारण देशभरका प्रमुख राजमार्गहरूमा अवरुद्ध छ। नेपाल प्रहरीका अनुसारकोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका विभिन्न सडक खण्डहरू पूर्ण वा आंशिक रूपमा अवरुद्ध भएका छन्।

बागमती प्रदेश सबैभन्दा बढी प्रभावित देखिएको छ। काभ्रेको रोशी गाउँपालिका ७ र ८ स्थित घुमाउने र गिम्दीमा पहिरो खसेका कारण बीपी राजमार्ग पूर्ण रूपमा अवरुद्ध भएको छ। यस्तै, खुर्कोट–नेपालथोक सडक खण्डमा बाढीको जोखिमका कारण सवारी साधन सञ्चालनमा रोक लगाइएको छ।

सिन्धुपाल्चोकको भोटेकोशी गाउँपालिकास्थित अरनिको राजमार्ग दुई ठाउँमा ९जिरो किलो र कोदारी० पहिरोका कारण पूर्ण रूपमा बन्द छ। ललितपुर र मकवानपुर जोड्ने कान्ति लोकपथ पनि पहिरो र बाढीको जोखिमका कारण ठप्प भएको छ। धादिङको जवादखोलास्थित पृथ्वी राजमार्ग भने अहिले पूर्ण रूपमा सुचारु भइसकेको छ।

कोशी प्रदेशको इलामस्थित मेची राजमार्ग पहिरोका कारण पूर्ण रूपमा अवरुद्ध छ भने भोजपुरको मध्य पहाडी लोकमार्ग एकतर्फी मात्र सुचारु छ।

गण्डकी प्रदेशमा कालीगण्डकी करिडोर बागलुङको बेलबगरमा पहिरोका कारण पूर्ण रूपमा बन्द भएको छ। नवलपरासी (पूर्व)को दाउन्नेमा पहिरो खसेका कारण पूर्व–पश्चिम राजमार्ग अहिले एकतर्फी मात्र सञ्चालनमा छ ।

लुम्बिनी प्रदेशका अर्घाखाँची र गुल्मीमा पनि सडक अवरुद्ध भएका छन्। अर्घाखाँचीको सालझण्डी–ढोरपाटन सडक खण्ड र गुल्मीको वामी–रिडी सडक खण्ड पहिरोका कारण पूर्ण रूपमा अवरुद्ध भएका छन्।
रसुवाको पासाङ ल्हामु सडक खण्ड र दोलखाको सखिनेमा भने सडक एकतर्फी रूपमा सञ्चालनमा ल्याइएको छ।

यसैगरी, अर्घाखाँचीको पाणिनि गाउँपालिका–२ ढुङ्गेखोलामा माथिबाट ढुङ्गा खसेपछि सालझण्डी–ढोरपाटन सडकखण्ड पूर्ण रूपमा अवरुद्ध भएको छ।

सिन्धुपाल्चोकको भोटेकोशी गाउँपालिका–४ जिरोकिलो र वडा नं २ कोदारी क्षेत्रमा पहिरो तथा लेदोसहितको ढुङ्गा–माटो खसेपछि अरनिको राजमार्ग पनि पूर्ण रूपमा अवरुद्ध भएको छ।

बागलुङको जैमिनी नगरपालिका–८ बेलबगर क्षेत्रमा पहिरो खसेपछि कालीगण्डकी करिडोर अवरुद्ध भएको छ। काभ्रेपलाञ्चोकको रोशी गाउँपालिका–७ घुमाउने, वडा नं ८ गिम्दी तथा वडा नं ९ बिरुवाडाँडा र पिन्थली क्षेत्रमा पहिरो खसेकाले बिपी राजमार्ग पनि पूर्ण रूपमा अवरुद्ध भएको छ।

यसबीच प्रहरीेले केही स्थानमा राति सवारी सञ्चालनमा रोक लगाएको छ।

नेपाल प्रहरीका अनुसार सम्भावित बाढीको जोखिमलाई दृष्टिगत गरी काभ्रेपलाञ्चोक र सिन्धुली जोड्ने बिपी राजमार्गअन्तर्गत खुर्कोट–नेपालथोक–कटुन्जेबेँसी सडक खण्डमा हरेक दिन बेलुका ६ः०० देखि बिहान ४ः०० बजेसम्म सबै प्रकारका सवारीसाधन सञ्चालनमा अर्को सूचना नभएसम्म रोक लगाइएको छ। यद्यपि बिहान ४ः०० देखि बेलुका ६ः०० बजेसम्म सवारी सञ्चालनको व्यवस्था गरिएको छ।

त्यसैगरी, कान्ति लोकपथमा अपराह्न ५ः०० देखि बिहान ५ः०० बजेसम्म सबै प्रकारका सवारीसाधन सञ्चालनमा अर्को सूचना नभएसम्म रोक लगाइएको छ। इलाम नगरपालिका–९ राजदुवालीस्थित मेची राजमार्गमा सडक हिलो बनेपछि सवारी आवागमन बन्द भएको छ।