२०३० को विश्वकप फुटबल स्पेन, पोर्चुगल र मोरक्कोमा हुने

२०३० को विश्वकप फुटबल स्पेन, पोर्चुगल र मोरक्कोमा हुने

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – फिफा विश्वकप २०२६ को समापनसँगै अब विश्व फुटबलको ध्यान सन् २०३० को विश्वकपतर्फ केन्द्रित भएको छ ।

फिफा विश्वकप २०२६ को विश्वकप फुटबल अमेरिका, क्यानडा र मेक्सिकोले संयुक्त रूपमा आयोजना गरेको हो । यो विश्वकप २० जुलाइमा सम्पन्न भएको हो ।

सय वर्षको इतिहास मनाउन लागिएको सन २०३०को विश्वकप अहिलेसम्मकै सबैभन्दा विशेष संस्करण हुनेछ । आउने विश्वकप पहिलो पटक प्रतियोगिता तीन महादेश र छ देशमा आयोजना गरिनेछ ।

फिफाले विश्वकपको शताब्दी वर्षलाई ऐतिहासिक बनाउन स्पेन, पोर्चुगल र मोरक्कोलाई मुख्य आयोजक राष्ट्रको रूपमा चयन गरेको छ । साथै, सन् १९३० मा पहिलो विश्वकप आयोजना भएको सम्झनामा दक्षिण अमेरिकाका उरुग्वे, अर्जेन्टिना र पाराग्वेमा उद्घाटन चरणका विशेष खेलहरू आयोजना गरिनेछन् ।

मुख्य आयोजक देशहरु स्पेन, पोर्चुगल, मोरक्को हुन् भने विशेष उद्घाटन खेल आयोजना गर्ने देशहरू उरुग्वे, अर्जेन्टिना, पाराग्वेमा हुनेछन् । विश्वकप २०२६ मा जस्तै विश्वकप २०३० मा पनि ४८ राष्ट्र सहभागी हुनेछन् ।

प्रतियोगितामा सय भन्दा बढी खेल हुने अपेक्षा गरिएको छ, जसले यसलाई इतिहासकै सबैभन्दा ठूलो विश्वकपमध्ये एक बनाउनेछ ।

विश्वकप २०३० का सबै आयोजक राष्ट्रहरूले स्वतः प्रतियोगितामा स्थान पाउनेछन् । यसअनुसार स्पेन, पोर्चुगल, मोरक्को, उरुग्वे, अर्जेन्टिना र पाराग्वेले छनोट प्रतियोगिता खेल्नुपर्ने छैन ।

विश्वकप २०३० ले तीन महादेशलाई एउटै प्रतियोगितामार्फत जोड्ने भएकाले यसलाई फुटबल इतिहासकै सबैभन्दा अनौठो र ऐतिहासिक संस्करणका रूपमा हेरिएको छ ।