काठमाण्डु – नेपाली कांग्रेसले जननायक बीपी कोइरालाको ४४औँ स्मृति दिवसका अवसरमा साउन ६ र ७ गते विभिन्न कार्यक्रमहरू आयोजना गर्दैछ ।
यसै सन्दर्भमा कांग्रेसको केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानले जलवायु जनचेतना जगाउन साउन ६ गते बिहान काठमाण्डु उपत्यकामा ‘ग्रीन रन’ आयोजना गर्ने भएको छ ।
कांग्रेसद्वारा सोमबार आयोजित पत्रकार सम्मेलनमा उपसभापति एवं प्रतिष्ठानका प्रमुख विश्वप्रकाश शर्माले ‘जलवायु जनचेतना जगाउन जुटौं’ नाराका साथ ५ किलोमिटर दौड आयोजना गर्न लागेको जानकारी दिए ।
‘दौड लगत्तै जावलाखेल चोक, फाल्चामा ‘जलवायु परिवर्तनको चुनौती: निराकरण कसरी’ शीर्षकमा विज्ञहरू सहितको समूहगत छलफल हुनेछ,’ उपसभापति शर्माले भने, ‘समूहगत छलफल चलिरहँदा सोही स्थलमा जलवायु परिवर्तनका चुनौती र सम्भावना झल्काउने चित्रहरू सुपरिचित चित्रकारहरूद्वारा पेन्टिङ गरिनेछन् ।’
साउन ७ गते पार्टीको नविन अभियान घोषणा सहितको कार्यक्रम हुनेछ । कांग्रेसले ‘ग्रीन रन’मा सहभागी हुनेको संख्याका आधारमा प्रतिव्यक्ति निश्चित रकम आफ्नो कोषबाट रकम जम्मा गरेर एक ‘मानवीय सहयोग कोष’ खडा गर्ने जनाएको छ । कोषको रकम पछिल्लो समय विस्थापित गरिएका सुकुमबासी परिवारका वृद्ध र बालबालिकाको हितमा खर्च गरिने उनले उल्लेख गरे ।
यसैगरी पार्टीले सोहीदिन राष्ट्रिय सभागृहमा ‘नवीन परिस्थिति: नवीन संकल्प, नवीन अभियान’ विषयक विचार गोष्ठी आयोजना गर्ने पत्रकार सम्मेलनमा जानकारी दिइयो । सञ्चारकर्मीको जिज्ञासामा उपसभापति शर्माले पार्टीको आगामी १५औँ महाधिवेशनमा सबैलाई सहभागी गराएर जाने कुराले सार्थकता पाउने बताए । प्रदेश सरकारमा सहकार्य गर्ने बारेमा समेत छलफल भइरहेको बताउँदै उनले कुनै पनि संसद प्रतिपक्षविहीन हुन नहुने उल्लेख गरेका छन् ।




प्रतिक्रिया