काठमाण्डु – यस वर्षको साउनको पहिलो सोमबार पशुपतिनाथ मूल मन्दिरभित्र प्रवेश गरी पूजा, आराधना गर्नेको घुइँचो लागेको छ ।
मन्दिरमा आउने सबै दर्शनार्थीले दर्शन गर्न सक्ने गरी व्यवस्था मिलाइएकाले मन्दिर परिसरभित्र बिहानैदेखि भक्तजनको घुइँचो लागेको हो ।
पशुपतिनाथसहित देशभरका शिवालयमा आशुतोष भगवान् शिवको पूजा, आराधना एवं दर्शन गर्ने भक्तजनको दिनभरि घुइँचो लागेको थियो । पशुपतिनाथ मन्दिरमा सोमबार आउनेजति सबैलाई दर्शनको व्यवस्था मिलाइएको पशुपति क्षेत्र विकास कोष सञ्चालक परिषद् सदस्य केदारमान भण्डारीले जानकारी दिए । उनका अनुसार दर्शन गर्न लाइन बस्नेको आँकडाअनुसार अनुमानित २ लाखभन्दा बढी दर्शनार्थीले पूजा, आराधना र दर्शन गरेका छन् ।
बिहानैदेखि पशुपतिनाथसहित देशभरका शिवालयमा भक्तजनको घुइँचो लागेको थियो । बिहान ९ बजेअघि लाममा बसेको आधा घण्टामा मूल मन्दिरभित्र प्रवेश गरेर दर्शन सकेर फर्किन सकिने अवस्था रहेकोमा ९ बजेपछि भने करिब १ घण्टा ३० मिनेटसम्म लागेको उनले बताए । बेलुकी ६ बजेपछि पनि आधा घण्टामा दर्शन गरेर फर्किन सकिने अवस्था रहेको कोषले जनाएको छ ।
सोमबार बिहानै ३ बजेदेखि पशुपतिनाथ मन्दिरका ४ वटै ढोका खोलिएको थियो । बिहान भने भक्तजनले सहज रूपमा दर्शन पाएका थिए । साउने झरीको पनि वास्ता नगरी भक्तजन बिहानैदेखि पशुपतिनाथ मन्दिरमा दर्शनका लागि आएका थिए । यस अवसरमा पशुपतिनाथको दर्शनमा आउने श्रद्धालु भक्तजनको सहज, सुरक्षित तथा व्यवस्थित दर्शन तथा विषेश पूजाको व्यवस्था गरिएको छ ।
कोषले यसवर्ष १ हजार तिरेर टिकट काटी सुलभ रूपमा दर्शन गर्न सक्ने व्यवस्था समेत गरेको छ । यो व्यवस्थालाई सुलभ दर्शन भनिएको छ । यो व्यवस्थाले सहज रूपमा दर्शन गरेर काम विशेषले हिँड्नेका लागि सजिलो भएको छ । भगवान्को दर्शन गरी राजधानी बाहिर वा विदेश जानेका लागि सहज भएको कोषले जनाएको छ । यसरी करिब २५ जनाले दर्शन गरेका कोषको सञ्चालक परिषद् सदस्य भण्डारीले बताए । तर यो व्यवस्थाको केही भक्तजनले भने विरोध जनाएका छन् ।
साउनको सोमबार पशुपतिनाथ मन्दिरमा दर्शनका लागि आउने लाखौँ श्रद्धालु भक्तजनलाई सहज, सुरक्षित, मर्यादित र व्यवस्थित वातावरणमा दर्शन र पूजा गराउने गरी व्यवस्था मिलाइएको कोषका सदस्य सचिव तीर्थ श्रेष्ठले जानकारी दिए ।
यस वर्ष विशेष पूजाका लागि करिब २५० जनाले रसिद काटेका छन् । ३ हजार १०० र ७ हजार ५०० रुपैयाँको रसिद काटी विशेष पूजाको व्यवस्था मिलाइएको छ । बिहान ८:३० बजेदेखि करिब १२ बजेसम्म भक्तजनलाई विशेष पूजा गराइएको थियो ।
मन्दिर छिर्न ४ वटा लामको व्यवस्था गरिएको थियो । बिहानैदेखि भक्तजन आए पनि लामो लाम भने नभएको कोषले जनाएको छ । पशुपति क्षेत्रमा दर्शनार्थीका लागि प्राथमिक उपचारलगायत अत्यावश्यक सबै व्यवस्था गरिएको छ । नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी बललगायत विभिन्न संस्थाले पनि पशुपति क्षेत्रमा नि:शुल्क स्वास्थ्य शिविरको व्यवस्था गरिएको छ ।
साउनको पहिलो सोमबार आज पशुपतिनाथसँगै राजधानीका गोकर्णेश्वर, नागेश्वर, डोलेश्वर, वसन्तपुर दरबार क्षेत्रको सानो पशुपतिनाथ भनेर चिनिने मक्खन महादेवलगायत राजधानीका ठूला साना सबै शिव मन्दिरमा पनि भक्तजनको लाम लागेको जनाइएको छ । यसैगरी देशभरका शिवालयमा भक्तजन पूजा आराधना एवं दर्शनका लागि पुगेका छन् ।
पशुपतिनाथ मन्दिरमा श्रीयन्त्र र गोकर्णेश्वर मन्दिरमा बालयन्त्रको पूजा आराधना हुने भएकाले पशुपतिनाथको पूजा, आराधना एवं दर्शन गर्नेले गोकर्णेश्वर र गोकर्णेश्वर महादेव मन्दिरको पूजा, आराधना एवं दर्शन गर्नेले पशुपतिनाथको पूजा, आराधना एवं दर्शन गर्नैपर्ने भन्ने नियम पनि रहेको जनाइएको छ ।




प्रतिक्रिया