काठमाण्डु – बर्डफ्लु सङ्क्रमण तथा जोखिम प्रभावका कारण घटेको अण्डाको भाउ फेरि बढेका छ ।
विगतमा उत्पादन घटेको र अहिले माग बढ्न थालेसँगै मूल्य बढ्न थालेको नेपाल लेयर्स कुखुरा पालक संघले जनाएको छ ।
संघले ठूला फार्महरूको मूल्य लिएर बजार मूल्य तय गर्ने गर्छ । संघका अनुसार बुधबारदेखि लागू हुने गरी ठूलो तथा मध्यम अण्डा प्रतिक्रेट (३० वटा) मा ५० रुपैयाँ भाउ बढाएको छ ।
अब ठूलो अण्डा प्रतिक्रेट ४५० बाट बढेर ५०० रुपैयाँ पुगेको छ । त्यस्तै मध्यम अण्डा ४२० बाट ४७० पुगेको छ । सानो अण्डामा पनि भाउ बढेको छ । संघका केन्द्रीय अध्यक्ष विनोद पोखरेलले अण्डाको माग बढ्न थालेपछि मूल्य बढ्न थालेको बताए ।
नेपालमा दैनिक झण्डै ४५ लाख गोटा अण्डा उत्पादन हुँदै आएकोमा बर्डफ्लुका कारण घटेर २८ लाख हाराहारीमा झरेको छ । जेठको अन्तिममा एक क्रेट अण्डाको ५५० रुपैयाँमा बिक्री भएकोमा भाउ घटेको थियो । एक क्रेट अण्डाको लागत मूल्य नै ५७३ रुपैयाँ ६० पैसा पर्न आउने संघको दाबी छ ।
यसअनुसार प्रतिगोटा १९ रुपैयाँ १२ पैसा पर्न आउँछ । भाउ बढे पनि अझै लागतअनुसारको मूल्य पाउन नसकेको किसानको गुनासो छ । अध्यक्ष पोखरेलले बर्डफ्लुका कारण किसानले ठूलो नोक्सानी व्यहोर्नु परेको र सरकारले प्रभावित किसानलाई राहत दिनुपर्ने बताए ।




प्रतिक्रिया