पक्राउ पुर्जी जारी भएका इजरायली प्रधानमन्त्री नेतान्याहु न्युयोर्क गए पक्राउ पर्लान् ?

पक्राउ पुर्जी जारी भएका इजरायली प्रधानमन्त्री नेतान्याहु न्युयोर्क गए पक्राउ पर्लान् ?

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु– न्युयोर्कका मेयर जोहरान ममदानीले इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहुविरुद्ध अन्तर्राष्ट्रिय फौजदारी अदालत (आइसिसी) ले जारी गरेको पक्राउ पुर्जी कार्यान्वयन गर्ने स्वतन्त्र कानूनी अधिकार न्युयोर्क सहरसँग नरहेको स्पष्ट पार्दै त्यसका लागि अमेरिकी संघीय सरकारले आवश्यक कदम चाल्नुपर्ने बताएका छन् ।

सामाजिक सञ्जालमार्फत सार्वजनिक गरेको भिडियो सन्देशमा मेयर ममदानीले नेतान्याहु न्युयोर्क गएमा आइसिसीको पक्राउ पुर्जी कार्यान्वयन गर्न सकिने वा नसकिने विषयमा आफ्नो प्रशासनले लागू कानूनका सबै पक्षको समीक्षा गरेको जानकारी दिए । त्यसक्रममा न्युयोर्क सहरसँग उक्त पक्राउ पुर्जी कार्यान्वयन गर्ने स्वतन्त्र कानूनी अधिकार नभएको निष्कर्षमा पुगेको उनले बताए ।

उनले संघीय सरकारसँग भने यस्तो अधिकार रहेको उल्लेख गर्दै संयुक्त राज्य अमेरिकालाई आइसिसीसँग सहकार्य गरी पक्राउ पुर्जी कार्यान्वयन गर्न आग्रह गरे ।

हेगस्थित आइसिसीले सन् २०२४ मा गाजा युद्धसँग सम्बन्धित कथित युद्ध अपराध तथा मानवताविरुद्धका अपराधमा नेतान्याहु जिम्मेवार रहेको विश्वास गर्ने पर्याप्त आधार रहेको भन्दै उनीविरुद्ध पक्राउ पुर्जी जारी गरेको थियो । यो मुद्दा सन् २०२३ अक्टोबर ७ मा हमासले इजरायलमाथि गरेको आक्रमणपछि गाजामा इजरायलले सञ्चालन गरेको सैन्य कारबाहीसँग सम्बन्धित छ ।

यसैबीच, अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सोमबार नेतान्याहु आगामी सेप्टेम्बरमा न्युयोर्कमा हुने संयुक्त राष्ट्रसंघको महासभामा सहभागी भए पक्राउको सामना गर्नुपर्ने अवस्था नआउने आश्वासन दिएका थिए ।

मेयर ममदानीले भिडियो सन्देशमा गाजामा भएको विनाशलाई विश्वले गम्भीर रूपमा हेर्नुपर्ने बताउँदै आफू आइसिसीको धारणा अनुसार नेतान्याहुलाई पक्राउ गरी आरोपबमोजिम कानूनी प्रक्रिया अघि बढाइनुपर्ने पक्षमा रहेको उल्लेख गरे । उनले आइसिसीले आरोप लगाएका अन्य सबै व्यक्तिको हकमा पनि समान कानूनी मापदण्ड लागू हुनुपर्ने धारणा व्यक्त गरे।

यता, नेतान्याहुको कार्यालयले भने मेयर ममदानीको अभिव्यक्तिलाई अस्वीकार गर्दै आइसिसीलाई ‘कङ्गारु अदालत’ को संज्ञा दिएको छ ।