काठमाण्डु– ह्वावेले नेपालमा आफ्नो नवीनतम फ्युजनसोलार ९.० स्मार्ट पीभी समाधान तथा लुटेरा™ युटिलिटी ग्रिड–फर्मिङ ऊर्जा भण्डारण प्रणाली (ईएसएस) सार्वजनिक गरेको छ।
‘सम्पूर्ण परिदृश्यका लागि ग्रिड–फर्मिङ युगतर्फ’ भन्ने नारासहित आयोजित कार्यक्रममा नेपाल उद्योग परिसंघ (सीएनआई) का अध्यक्ष वीरेन्द्र राज पाण्डे, ह्वावे डिजिटल पावर दक्षिण एसिया क्षेत्रका निर्देशक यु जियानलोङ, ह्वावे नेपालका प्रमुख कार्यकारी अधिकृत (सीईओ) चेस्टर चेन तथा ह्वावे नेपाल डिजिटल पावरका निर्देशक रोहित चन्द्र शाहले संयुक्त रूपमा यी समाधान सार्वजनिक गरेका हुन् ।
कार्यक्रममा सरकारी निकायका प्रतिनिधि, ऊर्जा विकासकर्ता, उद्योगी, व्यावसायिक साझेदार तथा नवीकरणीय ऊर्जा क्षेत्रका विभिन्न सरोकारवालाहरूको उल्लेखनीय सहभागिता रहेको थियो।
ह्वावेका अनुसार नेपालले नवीकरणीय ऊर्जा उत्पादन विस्तार गर्दै विद्युत् पूर्वाधारलाई सुदृढ बनाइरहेको वर्तमान अवस्थामा फ्युजनसोलार ९.० र लुटेरा™ ऊर्जा भण्डारण प्रणालीले राष्ट्रिय विद्युत् प्रणालीको विश्वसनीयता बढाउन, सौर्य ऊर्जाको प्रभावकारी उपयोग विस्तार गर्न तथा दीर्घकालीन ऊर्जा सुरक्षालाई मजबुत बनाउन महत्वपूर्ण भूमिका खेल्नेछन्।
यी दुवै समाधानले संयुक्त रूपमा नेपालको तीव्र गतिमा विस्तार भइरहेको नवीकरणीय ऊर्जा क्षेत्रलाई सशक्त बनाउँदै विद्युत् विकासकर्ता तथा विद्युत् सेवा प्रदायक संस्थाहरूलाई सुरक्षित, प्रभावकारी र दिगो ऊर्जा पूर्वाधार निर्माणमा सहयोग पुर्याउने कम्पनीको विश्वास छ।
कार्यक्रमलाई सम्बोधन गर्दै ह्वावे नेपालका प्रमुख कार्यकारी अधिकृत चेस्टर चेनले विगत २६ वर्षदेखि ह्वावे नेपालका लागि विश्वसनीय साझेदारका रूपमा नवप्रवर्तन र स्थानीय सहकार्यमार्फत नेपालको डिजिटल रूपान्तरणमा योगदान दिँदै आएको बताए।
नेपालले हरित ऊर्जातर्फको यात्रा तीव्र बनाइरहेका बेला फ्युजनसोलार ९.० र लुटेरा™ युटिलिटी ग्रिड–फर्मिङ ऊर्जा भण्डारण प्रणाली सार्वजनिक गर्न पाउँदा गर्व लागेको उल्लेख गर्दै उनले यी समाधानले नेपाललाई अझ स्वच्छ, स्मार्ट र दिगो ऊर्जा भविष्य निर्माण गर्न सहयोग गर्ने विश्वास व्यक्त गरे। साथै, आगामी वर्षहरूमा पनि विश्वसनीय प्रविधि र दीर्घकालीन साझेदारीमार्फत नेपालको विकास यात्रामा निरन्तर साथ दिने प्रतिबद्धता दोहोर्याए।
सन् १९९९ देखि नेपालमा कार्यरत ह्वावेले दूरसञ्चार सेवा प्रदायक, विभिन्न उद्योग–व्यवसाय, सरकारी निकाय तथा अन्य साझेदार संस्थासँग सहकार्य गर्दै नेपालको डिजिटल रूपान्तरण र दिगो विकासमा योगदान पुर्याउँदै आएको जनाएको छ।
कम्पनीले डिजिटल पावर प्रविधिमा निरन्तर नवप्रवर्तनमार्फत नेपालको नवीकरणीय ऊर्जा विकास, कार्बन उत्सर्जन न्यूनीकरण तथा हरित भविष्य निर्माण गर्ने राष्ट्रिय लक्ष्यलाई सहयोग गर्ने प्रतिबद्धता पनि व्यक्त गरेको छ।
सन् १९८७ मा स्थापना भएको ह्वावे सूचना तथा सञ्चार प्रविधि (आईसीटी) पूर्वाधार र स्मार्ट उपकरणहरूको विश्वव्यापी अग्रणी प्रदायक हो। कम्पनीले विश्वका १७० भन्दा बढी देश तथा क्षेत्रमा सेवा विस्तार गर्दै प्रत्येक व्यक्ति, घर र संस्थासम्म डिजिटल प्रविधिको पहुँच पुर्याउने लक्ष्यका साथ काम गर्दै आएको छ।
नेपालमा ह्वावेले विगत २६ वर्षदेखि आफ्ना ग्राहक तथा साझेदारहरूसँग सहकार्य गर्दै दूरसञ्चार, डिजिटल पूर्वाधार तथा डिजिटल पावर समाधान उपलब्ध गराउँदै आएको छ। कम्पनीले नेपालको डिजिटल अर्थतन्त्रको विकास, हरित ऊर्जा प्रवर्द्धन तथा दिगो विकासका लक्ष्य हासिल गर्न आवश्यक प्रविधि र नवप्रवर्तनमार्फत निरन्तर योगदान दिँदै आएको जनाएको छ।




प्रतिक्रिया