आयुर्वेद सेवालाई थप प्रभावकारी बनाउन स्वास्थ्यमन्त्री मेहताको पहल

आयुर्वेद सेवालाई थप प्रभावकारी बनाउन स्वास्थ्यमन्त्री मेहताको पहल

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – आयुर्वेद सेवालाई थप प्रभावकारी बनाउन र स्वास्थ्य प्रणालीसँग एकीकृत गर्ने विषयमा बुधबार उच्चस्तरीय छलफल भएको छ ।

स्वास्थ्य तथा खाद्य स्वच्छतामन्त्री निशा मेहताको उपस्थितिमा आयुर्वेद तथा वैकल्पिक चिकित्सा क्षेत्रको सुधार, सेवा विस्तार तथा नीतिगत व्यवस्थापनका विषयमा छलफल भएको हो ।

सो क्रममा नेपाललाई आयुर्वेदिक पर्यटनको गन्तव्यका रूपमा विकास गर्ने विषयमा विशेष जोड दिइएको छ । मन्त्री मेहताले आयुर्वेद तथा वैकल्पिक चिकित्सा सरकारको प्राथमिकतामा रहेको उल्लेख गर्दै नेपाल आयुर्वेदको उद्गमस्थल भएकाले यसको संरक्षण, प्रवर्द्धन र स्वास्थ्य पर्यटनसँग जोडेर विकास गर्नुपर्ने बताए ।

सरकार यस क्षेत्रको विकासका लागि आवश्यक नीतिगत तथा संस्थागत सहयोग गर्न प्रतिबद्ध रहेको उनले बताए । पोखरास्थित गण्डकी आयुर्वेद अस्पताल, कीर्तिपुरस्थित आयुर्वेद अनुसन्धान तथा तालिम केन्द्र र बूढानीलकण्ठस्थित राष्ट्रिय आयुर्वेद पञ्चकर्म तथा योग केन्द्रलाई आयुर्वेदिक स्वास्थ्य पर्यटनका प्रमुख केन्द्रका रूपमा विकास गर्ने विषयमा पनि विशेष जोड दिइएको छ ।

ती संस्थाहरूको पूर्वाधार, सेवा, विशेषज्ञ जनशक्ति र अन्तरराष्ट्रियस्तरको वेलनेस सेवाको क्षमता अभिवृद्धि गर्दै नेपाललाई आयुर्वेदिक स्वास्थ्य पर्यटनको आकर्षक गन्तव्यका रूपमा स्थापित गर्ने रणनीतिमा मन्त्रालयले काम अघि बढाउने जनाएको छ ।

यसका साथै आयुर्वेद सेवालाई स्वास्थ्य बिमा कार्यक्रममा समावेश गर्ने, सङ्गठन तथा व्यवस्थापन सर्वेक्षण सम्पन्न गर्ने, मन्त्रालयमा आयुर्वेदसम्बन्धी संस्थागत संरचना सुदृढ गर्ने, जडीबुटी उत्पादनदेखि प्रशोधन र औषधि उत्पादनसम्मको मूल्य शृंखला विकास गर्ने तथा विश्व स्वास्थ्य सङ्गठन  मापदण्डअनुसार उत्पादन प्रणाली सुदृढ गर्ने विषयमा सहभागीहरूले सुझाव दिएका थिए ।