काठमाण्डु– शिक्षा तथा खेलकुदमन्त्री एवं सरकारका प्रवक्ता सस्मित पोखरेलविरुद्ध विद्यार्थीले नाराबाजीसहित प्रदर्शन गरेका छन् ।
मन्त्री पोखरेल बिहीबार त्रिभुवन विश्वविद्यालयको ६७औं वार्षिक उत्सवका अवसरमा आयोजित कार्यक्रममा सहभागी हुन कीर्तिपुर पुगेका थिए ।
पोखरेलविरुद्ध स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) सहित विभिन्न राजनीतिक दल सम्वद्ध विद्यार्थीले प्रदर्शन गरेका हुन् ।
स्वतनत्र विद्यार्थी युनियन कीर्तिपुरका सचिव हिक्मत बुढासहित मन्त्री पोखरेलको विरोध गर्ने केही विद्यार्थीलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
त्रिवि केन्द्रीय क्याम्पसका स्ववियु सभापति दीपक जोशीले सिनेट बैठक बोलाउन आग्रह गर्न भेटेर कुरा गर्न खोज्दा मन्त्रीले बेवास्ता गरेपछि अक्रोशित विद्यार्थीले उनीविरुद्ध नाराबाजी गरेको बताए ।
प्रदर्शनकारीले मन्त्री पोखरेलविरुद्ध ‘नेप्पो बेबी’ को आरोप लगाएका छन् । मन्त्री पोखरेलका बाबु रमेशकुमार पोखरेल नेपािल राष्ट्र बैंकका अवकाशप्राप्त कर्मचारी हुन् ।
पोखरेलले सार्वजनिक गरेको सम्पत्ति विवरणमा सम्पत्तिको श्रोत बाबुले राष्ट्र बैंकको जागिरबाट प्राप्त गरेको आम्दानी र सुविधा तथा पैत्रिक सम्पत्ति उल्लेख गरेका थिए ।
पोखरेलले सार्वजनिक गरेको सम्पत्ति विवरणअनुसार उनको कुल सम्पत्ति करिब २४ करोड १६ लाख २७ हजार रुपैयाँ रहेको उल्लेख छ ।
बाबुले कमाएको सम्पत्ति विवरणमा उल्लेख गरेपछि उनलाई विरोधीले ‘नेप्पो बेबी’ को सँज्ञा दिँदै आएका छन् ।
गत २३ र २४ भदौको जेनजी आन्दोलनमा नवयुवाले ‘नेपो बेबी’ प्रवृत्तिको चर्को विरोध गरेका थिए ।




प्रतिक्रिया