काठमाण्डु– सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछाने भारतपछि चीन भ्रमणमा जाने तयारीमा छन् ।
चिनियाँ कम्युनिष्ट पार्टी (सीपीसी) को निम्तोमा लामिछाने साउन अन्तिम साता बेइजिङ उड्ने तयारीमा रहेको रास्वपा उच्च श्रोतले पुष्टि गरेको छ ।
प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) सँगको सल्लाहमा लामिछाने चीन जान लागेका हुन् । यसअघि १८ देखि २२ जेठसम्म लामिछानेले दक्षिण छिमेकी भारतको भ्रमण गरेका थिए ।
चीन बसाइका क्रममा लामिछानेले चिनियाँ उपराष्ट्रपति हान झेङ र विदेशमन्त्री वाङ यीसँग भेट्ने करिब निश्चित भइसकेको छ ।
रास्वपा र चिनियाँ कम्युनिष्ट पार्टीको विदेश विभागले भरसक राष्ट्रपति सी जिनफिङसँग लामिछानेको भेट गराउने प्रयास गरिरहेको छ ।
सीसँगको भेट भने निश्चित भइनसकेको श्रोतले जनाएको छ । ‘उपराष्ट्रपति र परराष्ट्रमन्त्रीसँगको भेट लगभग निश्चित भएको छ । राष्ट्रपति सीसँग पनि भेट्न सकिन्छ कि भन्ने विषयमा प्रयास जारी छ’, श्रोतले काठमाण्डु पाटीसँग भन्यो ।
भारत भ्रमणमा जानुअघि नै चिनियाँ पक्षले लामिछानेलाई बेइजिङ बोलाएको थियो । तर, लामिछानेले पहिला भारत जान चाहे ।
परराष्ट्रमन्त्री शिशिर खनालले चीन भ्रमणका क्रममा सभापति लामिछानेको बेइजिङ भ्रमणको तारतम्य मिलाएका थिए ।
गत ३१ जेठमा चीन प्रस्थान गरेर ४ असारमा काठमाण्डु फर्किएका खनालले बेइजिङमा चिनियाँ समकक्षी वाङ यी, चिनियाँ कम्युनिष्ट पार्टीको अन्तर्राष्ट्रिय विभागका मन्त्री लिउ हाइसिङ र चिनियाँ जनराजनीतिक परामर्श सम्मेलनका अध्यक्ष वाङ हुनिङसँग द्विपक्षीय वार्ता गरेका थिए ।
लामिछानेको भ्रमण द्विपक्षीय सहकार्य तथा सम्बन्ध विस्तारमा केन्द्रित हुने बताइएको छ । रास्वपा नेतृत्वमा सरकार बनेपछि चीनले नेपालको ‘एक चीन नीतिप्रतिको प्रतिबद्धता’ मा स्पष्टता खोजेको छ ।
चीनले नेपालको भूमि आफूहरुविरुद्ध प्रयोग नहोस् भन्ने सन्देश यसअघि नै सरकारलाई दिइसकेको छ ।
वर्तमान सरकारका केही मन्त्रीहरुको कार्यशैलीलाई लिएर चीनले आपत्ति जनाएको समाचारहरु यसअघि नै प्रकाशमा आएका थिए । यद्यपि मन्त्री खनालले भ्रमणका क्रममा नेपाल एक चीन नीतिप्रति प्रतिबद्ध रहेको स्पष्ट गरिसकेका छन् ।
लामिछानेको भ्रमणका क्रममा नेपाल–चीन सम्बन्ध, सीमा सुरक्षा, आर्थिक विकास तथा व्यापारलगायत विषयमा छलफल हुनेछ ।




प्रतिक्रिया