मंगलबहादुर शाही बन्दैछन् कर्णालीका मुख्यमन्त्री

मंगलबहादुर शाही बन्दैछन् कर्णालीका मुख्यमन्त्री

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – एमाले र नेकपाबीच भएको प्रदेशमा नयाँ सत्ता समीकरणअनुसार कर्णाली प्रदेशमा नेकपाले सरकार बनाउने निश्चित भएको छ ।

सत्ता समीकरणअनुसार कर्णालीमा सरकारको नेतृत्व नेकपाले गर्ने भएपछि प्रदेशमा पार्टीको संसदीय दलका नेता मंगलबहादुर शाही मुख्यमन्त्री बन्ने भएका छन् ।

नेकपाका प्रवक्ता प्रकाश ज्वालाले संसदीय दल नेता हुँदाहुँदै अरु व्यक्तिका बारेमा छलफल आवश्यक नहुने बताए । मुख्यमन्त्री चयनका लागि आइतबार अपरान्ह बैठक बोलाइएको छ ।

शाही मुगुबाट निर्वाचित प्रदेशसभा सदस्य हुन् । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले शनिबार पदबाट राजीनामा दिएका थिए । शनिबार बसेको कर्णाली प्रदेशसभाको बैठकलाई सम्बोधन गर्दै उनले आफ्नो राजीनामाको घोषणा गरेका थिए ।

कँडेलविरुद्ध असार ३२ गते नेपाली कांग्रेस र नेकपाका १६ जना प्रदेशसभा सदस्यले अविश्वासको प्रस्ताव दर्ता गराएका थिए । सोही प्रस्तावमाथि छलफल गर्न शनिबार दिउँसो ३ बजे प्रदेशसभा बैठक बोलाइएको थियो । तर छलफलका क्रममा मुख्यमन्त्री कँडेलले पदबाट राजीनामा दिएको घोषणा गरे ।

यसअघि गत असार ३१ गते सत्ता साझेदार नेपाली कांग्रेसका चार मन्त्रीले सामूहिक रूपमा राजीनामा दिएका थिए ।

मन्त्रीहरूको राजीनामाको भोलिपल्ट कांग्रेसले नेकपासँग नयाँ सत्ता सहकार्य अघि बढाउँदै मुख्यमन्त्री कँडेल नेतृत्वको सरकारविरुद्ध अविश्वासको प्रस्ताव दर्ता गरेको थियो ।

यामलाल कँडेल २०८० साल चैत २७ गते मुख्यमन्त्री नियुक्त भएका थिए । त्यसबेला तत्कालीन माओवादी केन्द्रको समर्थनमा उनी मुख्यमन्त्री बनेका थिए ।

पछि केन्द्रमा राजनीतिक समीकरण परिवर्तन भई कांग्रेस–एमाले गठबन्धन बनेसँगै २०८१ साल साउनदेखि कर्णाली प्रदेश सरकारमा नेपाली कांग्रेस सहभागी भएको थियो । मुख्यमन्त्री कँडेलको राजीनामासँगै कर्णाली प्रदेशमा नयाँ सरकार गठनको प्रक्रिया सुरु हुने भएको छ ।