काठमाण्डु – नेकपा (एमाले) र नेपाली कम्युनिष्ट पार्टी (नेकपा)बीच प्रदेशहरूमा नयाँ सत्ता सहकार्य गर्ने सहमति भएसँग कोशी प्रदेशमा को मुख्यमन्त्री बन्ने चासो बढेको छ ।
एमाले अध्यक्ष केपी शर्मा ओली र नेकपाका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच शनिबार भएको सहमतिअनुसार एमालेले कोशी, बागमती र लुम्बिनी प्रदेश सरकारको नेतृत्व गर्नेछ भने नेकपाले कर्णाली र सुदूरपश्चिमको नेतृत्व पाउनेछ ।
मधेश र गण्डकी प्रदेशमा भने अन्य दलसँगको छलफलपछि सरकारको नेतृत्व र सहभागिता टुंग्याइने दुई पार्टीबीच सहमति भएको छ ।
योसँर्गै कोशी प्रदेशमा १०औँ पटक मुख्यमन्त्री फेरबदलको कसरत सुरु भएको छ । सहमतिअनुसार अब कोशी प्रदेशको नेतृत्व एमालेले गर्ने छ र एमालेले नयाँ मुख्यमन्त्रीको चयन गर्नेछ । तर पार्टीबाट को मुख्यमन्त्री बन्ने निश्चित भइसकेको छैन ।
हाल कोशी प्रदेशमा एमाले नेतृत्वको सरकारमा कांग्रेस पनि सहभागी छ । तर, केन्द्रमा कांग्रेस–एमाले सहकार्य अन्त्य भइसकेकाले कांग्रेसका मन्त्रीहरू सरकारबाट बाहिरिने तयारीमा छन् ।
पार्टी स्रोतका अनुसार एमाले प्रदेश संसदीय दलका नेता, वर्तमान मुख्यमन्त्री, तथा पार्टीका केन्द्रीय सचिव हिक्मतकुमार कार्कीलाई नै निरन्तरता दिने कि नयाँ अनुहार ल्याउने भन्ने विषयमा बहस सुरु भएको छ ।
एमाले स्रोतका अनुसार वर्तमान मुख्यमन्त्री कार्कीलाई नै निरन्तरता दिने वा प्रदेश संसदीय दलका उपनेता तिलकुमार मेन्याङ्बोलाई जिम्मेवारी दिने भन्ने विषयमा छलफल सुरु भएको छ ।
ताप्लेजुङबाट निर्वाचित मेन्याङ्बो प्रदेश संसदीय दलमा कार्कीपछि दोस्रो वरीयताका नेता हुन् । पछिल्लो बजेट निर्माणका क्रममा उनले कार्की नेतृत्वको सरकारप्रति असन्तुष्ट सांसदहरूको नेतृत्व गरेका थिए ।
मेन्याङ्बो पनि मुख्यमन्त्री बन्न दौडधुप गरिरहेका छन् । तर मुख्यमन्त्री कार्कीले नेतृत्व परिवर्तनका बारेमा अहिलेसम्म कुनै औपचारिक छलफल नभएको बताउँछन् ।
प्रदेश सरकार परिवर्तनको चर्चा चलिरहेका बेला केही दिनअघि काठमाडौं पुगेका कार्की पार्टीका शीर्ष नेताहरूसँग छलफल गरेर शनिबार विराटनगर फर्किएका छन् ।
‘नेकपासँगको सहमतिपछि कोशी सरकारको नेतृत्व एमालेले गर्ने विषय निश्चित भइसकेको छ’, एमाले प्रदेश संसदीय दलका प्रमुख सचेतक रमेश बस्नेतले भने, ‘तर नेतृत्वको बारेमा पार्टीको आन्तरिक प्रक्रिया र केन्द्रको निर्णयबाट हुन्छ ।’
९ वर्षमा १० मुख्यमन्त्री
२०७४ सालमा प्रदेशसभा गठन भएदेखि कोशी प्रदेशमा अहिलेसम्म नौ पटक मुख्यमन्त्री फेरबदल भइसकेका छन् ।
यसअवधिमा छ जना फरकफरक नेताले मुख्यमन्त्रीको जिम्मेवारी सम्हालेका छन् । हिक्मतकुमार कार्की तीन पटक, उद्धव थापा दुई पटक तथा शेरधन राई, भीमप्रसाद आचार्य, राजेन्द्रकुमार राई र केदार कार्की एक–एक पटक मुख्यमन्त्री बनेका हुन्
अब केन्द्रको नयाँ सत्ता समीकरण प्रदेशमा कार्यान्वयनमा आएपछि कोशी प्रदेशमा दशौँ पटक सरकार गठन हुनेछ ।
२०७९मा भएको दोस्रो प्रदेशसभा पछि यो सातौँ सरकार हुनेछ । २०७४ फागुन २ गते एमालेका शेरधन राई कोशी प्रदेशका पहिलो मुख्यमन्त्री बनेका थिए ।
तत्कालीन नेपाल कम्युनिष्ट पार्टी (नेकपा) विभाजन भएपछि उनले राजीनामा दिए । उनको राजीनामापछि २०७८ भदौ ११ गते एमालेकै भीमप्रसाद आचार्य दोस्रो मुख्यमन्त्री नियुक्त भए ।
तर, एमाले विभाजनको असरका कारण उनले दुई महिनामै पद छाड्नुप¥यो । त्यसपछि २०७८ कात्तिक १६ गते गठबन्धनका तर्फबाट तत्कालीन नेकपा (एकीकृत समाजवादी)का राजेन्द्रकुमार राई तेस्रो मुख्यमन्त्री बने ।
प्रदेशसभा निर्वाचनपछि २०७९ पुस २५ गते एमालेका हिक्मतकुमार कार्की चौथो मुख्यमन्त्री बने । तर, तत्कालीन नेकपा (माओवादी केन्द्र)ले समर्थन फिर्ता लिएपछि उनको सरकार २०८० असार २१ गते ढल्यो । लगत्तै २०८० असार २२ गते कांग्रेस प्रदेश संसदीय दलका नेता उद्धव थापा पाँचौ मुख्यमन्त्री नियुक्त भए । तर, सभामुखको हस्ताक्षर प्रयोग गरी सरकार गठन गरिएको भन्दै सर्वोच्च अदालतले उनको नियुक्ति बदर गरिदियो ।
त्यसपछि २०८० साउन १७ गते उद्धव थापा दोस्रो पटक छैठौँ मुख्यमन्त्री बने । तर, विश्वासको मत लिने क्रममा सभाध्यक्षलाई मतदान गराइएको विषयमा सर्वोच्च अदालतले दोस्रो नियुक्तिसमेत बदर गर्दै उनलाई पदमुक्त गरिदियो । सर्वोच्च अदालतकै परमादेशअनुसार २०८० भदौ २२ गते हिक्मतकुमार कार्की दोस्रो पटक मुख्यमन्त्री नियुक्त भए । कोशीमा यो सातौँ मुख्यमन्त्री थियो ।
तर, आवश्यक बहुमत सुनिश्चित गर्न नसकेपछि उनले करिब एक महिनामै पद छाडे । त्यसपछि कांग्रेसका केदार कार्की आठौँ मुख्यमन्त्री बने । उनले करिब सात महिना सरकार सञ्चालन गरे ।
केन्द्रमा फेरिएको सत्ता समीकरणको प्रभाव प्रदेशमा परेपछि विश्वासको मत गुमाउँदै २०८१ वैशाख २६ गते उनी पदमुक्त भए । त्यसको भोलिपल्ट अर्थात् २०८१ वैशाख २७ गते हिक्मतकुमार कार्की नवौँ मुख्यमन्त्री बने । उनी हालसम्म सरकारको नेतृत्व गरिरहेका छन् ।




प्रतिक्रिया