सुनसरी गोली काण्ड छानबिन गर्न समिति गठन

सुनसरी गोली काण्ड छानबिन गर्न समिति गठन

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

सुनसरी– सरकारले सुनसरीको देवानगञ्ज गाउँपालिका–३, कप्तानगन्जमा भएको हिंसात्मक घटनाको छानबिन गर्न पाँच सदस्यीय समिति गठन गरेको छ ।

गृहमन्त्रालयका सहसचिव भुपेन्द्र थापाको संयोजकत्वमा गठन गरिएको समितिलाई एक साताभित्र प्रतिवेदन बुझाउन निर्देशन दिइएको छ ।

घटनाबारे थप समीक्षा गर्न गृहमन्त्री सुधन गुरुङले सोमबार साँझ ५ बजे केन्द्रीय सुरक्षा समितिको बैठक बोलाएका छन् ।

यसअघि गृहमन्त्री गुरुङले नेपाल प्रहरी र सशस्त्र प्रहरीका उच्च अधिकारीसँग छलफल गरेका थिए । सोही छलफलपछि छानबिन समिति गठन गर्ने निर्णय भएको हो ।

छलफलमा प्रहरीका महानिरीक्षक दानबहादुर कार्की र सशस्त्र प्रहरी बलका महानिरीक्षक नारायणदत्त पौडेललगायत सहभागी थिए ।

के भएको थियो ?

आइतबार राति करिब १०ः१५ बजे देवानगञ्ज–३ को कप्तानगन्जमा श्रावण महिनाको बोलबम यात्राका क्रममा चर्को संगीत (डीजे) बजाइएको विषयलाई लिएर दुई समुदायबीच विवाद सुरु भएको थियो ।

विवाद चर्किँदै गएपछि ढुंगामुढा र झडपको अवस्था सिर्जना भएको थियो । स्थिति नियन्त्रणबाहिर जान थालेपछि सुरक्षाकर्मीले सुरुमा अश्रुग्यास र हवाई फायर गरेका थिए । त्यसपछि पनि भीड नियन्त्रणमा नआएपछि गोली चलाइएको प्रहरीले जनाएको छ ।

प्रहरीको गोली लागी देवानगञ्ज गाउँपालिका–३ का २४ वर्षीय ओमप्रकाश मेहता गम्भीर घाइते भएका थिए ।

उपचारका क्रममा विराटनगरस्थित न्युरो अस्पतालमा उनको मृत्यु भयो । घटनामा सर्वसाधारण र सुरक्षाकर्मीसहित दुई दर्जनभन्दा बढी व्यक्ति घाइते भएका छन् ।

यस्तै स्थानीयका केही घर, सवारीसाधन तथा पसलमा तोडफोड र आगजनीसमेत भएको छ ।

घटनापछि स्थिति नियन्त्रणमा लिन स्थानीय प्रशासनले देवानगञ्ज र आसपासका संवेदनशील क्षेत्रमा कर्फ्यू आदेश जारी गर्दै सुरक्षा व्यवस्था कडा बनाएको छ ।