काठमाण्डु– प्रस्तावित निर्वाचन आयुक्त गुरूप्रसाद वाग्लेले विदेशमा रहेका नेपालीले निर्वाचनमा मतदान गर्ने व्यवस्था चुनौतीपूर्ण रहेको स्वीकार गरेका छन् ।
संसदीय सुनुवाइ समितिमा मंगलबार सांसदहरुले राखेको जिज्ञाशाको जवाफमा वाग्लेले विदेशबाट मतदान सहज नभएको बताए ।
वाग्लेले खाडी मुलुकले नेपाली श्रमिकलाई मतदानमा सहभागी हुन दिन्छन् वा दिँदैनन् भन्नेबारे केही बताउन नसकिने स्पष्ट गरे ।
‘खाडी मुलुकहरूले उनीहरुको देशमा गएर निर्वाचन गराउन अनुमति दिन्छन् कि दिँदैनन् भन्ने प्रश्न छ’, उनले समितिमा भने । खाडी मुलुकमा श्रमिकका रुपमा जाने नेपालीको संख्या ठूलो छ ।
सरकार नेतृत्वकर्ता रास्वपाले २१ फागुनको निर्वाचन घोषणापत्रमा आफ्नो सरकार बनेपछि विदेशमा बस्ने नेपालीलाई मतदानको व्यवस्था मिलाउने उल्लेख गरेको थियो ।
फरक प्रसंगमा वाग्लेले आफू आयुक्त भएपछि दलीय आधारमा कसैमाथि नजिक र टाढाको व्यवहार नगर्ने दाबी गरे ।
सांसदहरुले नेपालमै आफ्नो निर्वाचन क्षेत्रबाहिर रहेका व्यक्तिले जहाँ छ त्यहींबाट मतदान गर्न पाउने व्यवस्था मिलाउन सकिन्छ कि सकिँदैन ? भन्ने प्रश्न वाग्लेलाई सोधेका थिए ।
जवाफमा उनले सरकारले निर्वाचनसम्बन्धी कानुनमा उक्त विषय समावेश गरेको अवस्थामा अर्को क्षेत्रबाट पनि मतदानमा भाग लिन सक्ने व्यवस्था मिलाउन सकिने स्पष्ट गरे ।
उनले मृत्यु भइसकेका व्यक्तिहरुको पनि मतदाता नामावलीमा नाम समावेश हुनुको कारण पञ्जीकरण विभाग र निर्वाचन आयोगबीच उचित तालमेल हुन नसक्ने रहेको औंल्याए ।




प्रतिक्रिया