विपक्षीसँग सभामुख अर्यालको आग्रहः प्रधानमन्त्रीले सीमाबारे दिएको अभिव्यक्तिको संसदमा विरोध नगरिदिनुस्

विपक्षीसँग सभामुख अर्यालको आग्रहः प्रधानमन्त्रीले सीमाबारे दिएको अभिव्यक्तिको संसदमा विरोध नगरिदिनुस्

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु– सभामुख डोलप्रसाद (डिपी) अर्यालले प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) ले सीमाबारे दिएको अभिव्यक्तिलाई लिएर संसदमा जारी विरोध रोक्न प्रतिपक्षी दलहरुलाई आग्रह गरेका छन् ।

मंगलबार सिंहदरबारस्थित आफ्नै कार्यकक्षमा विपक्षी दलका प्रमुख सचेतकहरुसँग भएको छलफलमा अर्यालले उक्त विषय उठाउन छाड्न भनेका थिए ।

‘यति लामो समयसम्म एउटै विषय उठाएर संसदमा विरोध गरिदिनुभएन’, अर्यालले भनेका थिए, ‘संसदलाई मर्यादित बनाउन भूमिका खेल्नुस् ।’

सभामुखको भनाइप्रति विपक्षीले प्रतिवाद गरे । आफूहरुका कारण नभई प्रधानमन्त्री, मन्त्री र सत्तारुढ रास्वपाका सांसदहरुका कारण संसद मर्यादित बन्न नसकेको जवाफ उनीहरुले फर्काए ।


बैठकमा सहभागी नेपाली कम्युनिष्ट पार्टी (नेकपा) प्रमुख सचेतक युवराज दुलालले सभामुख अर्यालले सीमाबारे प्रधानमन्त्रीले दिएको अभिव्यक्ति पुरानो भइसकेकाले विरोध नगर्न भनेको बताए ।

प्रधानमन्त्री बालेनले ‘नेपालले पनि भारतको धेरै जग्गा मिचेको रहेछ’ भन्ने आफ्नो अभिव्यक्ति संसदमा आएर फिर्ता लिए आफूहरुले विरोध गर्न छाड्ने जवाफ दिएको उनको भनाइ थियो ।


‘हाम्रो कारणले उब्जिएको समस्या होइन, यो प्रधानमन्त्रीका कारण उब्जिएको समस्या हो । उहाँले नेपालले भारतको जमिन मिचेको भन्ने अभिव्यक्ति संसदमा आएर फिर्ता लिने बित्तिकै हामी विरोध गर्दैनौं भन्यौं’, दुलालले भने ।


सरकार उठाएका प्रश्नको जवाफ दिन र सरकारले गरेका कामबारे जानकारी गराउन पनि प्रधानमन्त्री संसदमा आउनैपर्ने अडान विपक्षी दलहरुको थियो ।

रास्पवाले विपक्षीलाई पेलेर जबर्जस्ती पारित गराएको संसद नियमावलीमा हरेक महिनाको पहिलो साता प्रधानमन्त्री सांसदरुसँगको प्रश्नोत्तरमा सहभागी हुनुपर्ने व्यवस्था किन कार्यान्वयन भइरहेको छैन ? भन्दै विपक्षीले सभामुख अर्याललाई प्रश्न गरे ।

‘हामीले छलफल गरेर सहमतिमै पारित गरौं भन्दाभन्दै तपाईंहरुले जबर्जस्ती पारित गरेको नियमावलीमा स्पष्टसँग हरेक महिनाको पहिलो साता प्रधानमन्त्री संसदमा प्रश्नोत्तरमा सहभागी हुने भन्ने व्यवस्था छ । यो किन कार्यान्वयन भइरहेको छैन ? कार्यान्वयन नगर्न र देखाउन मात्र त्यो व्यवस्था राखिएको हो भने त्यो पनि भन्नुस्’, दुलालले सभामुख अर्याललाई भनेका थिए ।