काँग्रेस नेता गोपालमान श्रेष्ठको निधन

काँग्रेस नेता गोपालमान श्रेष्ठको निधन

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु– नेपाली कांग्रेसका वरिष्ठ नेता गोपालमान श्रेष्ठको निधन भएको छ ।

श्रेष्ठको मंगलबार निधन भएको कांग्रेस कार्यवाहक मुख्य सचिव कृष्णप्रसाद दुलालले पुष्टि गरे । दुलालका अनुसार
श्रेष्ठ ललितपुरको जावलाखेलस्थित हेलियस अस्पतालमा उपचाररत थिए । उनको उपचारका क्रममा अस्पतालमै निधन भएको हो ।

श्रेष्ठको पार्थिव शरीर बुधबार बिहान श्रद्धाञ्जलीका लागि नेपाली कांग्रेसको केन्द्रीय कार्यालय सानेपामा राखिने छ । त्यसपछि शवयात्रासहित पशुपति आर्यघाटमा अन्त्येष्टि गर्ने तयारी गरिएको छ ।

पार्टीमा गरेको योगदानको कदर गर्दै नेपाली कांग्रेसले हालै श्रेष्ठलाई वरिष्ठ नेताको जिम्मेवारी दिएको थियो । उनी लामो समयदेखि क्यान्सरबाट पीडित थिए ।

स्याङ्जाबाट पटकपटक प्रतिनिधिसभा सदस्य निर्वाचित भएका श्रेष्ठले भौतिक योजना, शिक्षा, उद्योग र वन मन्त्रालयको जिम्मेवारी सम्हालेका थिए ।

श्रेष्ठ नेपाली कांग्रेस प्रजातान्त्रिकका कार्यवाहक सभापतिसमेत थिए ।

पार्टी संगठन र लोकतान्त्रिक आन्दोलनमा उनको महत्वपूर्ण योगदान रहेको कांग्रेसले जनाएको छ ।