काठमाण्डु – नेपाली कांग्रेसका वरिष्ठ नेता गोपालमान श्रेष्ठको पार्थिव शरीर श्रद्धाञ्जलीका लागि पार्टी कार्यालय सानेपामा राखिएको छ।
उनको पार्थिव शरीरमा पार्टी सभापति गगन थापाले पार्टीको झण्डा ओढाएका छन्।
पूर्वउपप्रधानमन्त्रीसमेत रहेका श्रेष्ठको ८३ वर्षको उमेरमा मंगलबार उपचारका क्रममा जावलाखेलस्थित हेलिअस अस्पतालमा निधन भएको थियो। उनको बुधबार शवयात्रासहित पशुपति आर्यघाटमा अन्त्येष्टि गरिने छ ।
श्रेष्ठलाई पाँच दिनअघि मात्रै कांग्रेसले पार्टीको वरिष्ठ नेताको जिम्मेवारी दिएको थियो।
कांग्रेसले तीन दिन शोक मनाउने
वरिष्ठ नेता श्रेष्ठको निधनमा कांग्रेसले तीन दिन शोक मनाउने निर्णय गरेको छ।
पार्टीका कार्यवाहक मुख्यसचिव कृष्णप्रसाद दुलालका अनुसार साउन १३, १४ र १५ गतेसम्म कांग्रेसको केन्द्रीय, प्रदेश र जिल्ला कार्यालयमा पार्टीको झण्डा आधा झुकाइनेछ। साथै, साउन १४ गते बिहीबार केन्द्र, प्रदेश र जिल्लाका सबै पार्टी कार्यालय बन्द रहनेछन्।
त्यस्तै, श्रेष्ठको निधनको १३ दिनसम्म पार्टीका केन्द्रीय, प्रदेश र जिल्ला कार्यालयमा शोक पुस्तिका राख्ने तथा १३औँ दिन उनको गृह जिल्ला स्याङ्जामा शोकसभा आयोजना गर्ने निर्णय पनि गरिएको छ। कांग्रेसले श्रेष्ठको निधनलाई पार्टी र राष्ट्रका लागि अपूरणीय क्षति भएको जनाएको छ।










प्रतिक्रिया