काठमाण्डु – सरकारले विभिन्न ९ विधेयकलाई संसद्समक्ष पेश गर्न स्वीकृति दिने निर्णय गरेको छ ।
बुधबार प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय सिंहदरबारमा बसेको मन्त्रिपरिषद् बैठकले संवैधानिक निकायका पदाधिकारीहरूको पारिश्रमिक, सेवाको शर्त र सुविधा सम्बन्धी ऐन, २०५३ लाई संशोधन गर्न बनेको विधेयकलाई संघीय संसद्समक्ष पेश गर्न स्वीकृति दिएको छ ।
बैठकले खानी तथा खनिज पदार्थ सम्बन्धी कानूनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक, संक्रामक पशु रोग नियन्त्रण सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक र राहदानी ऐन, २०७६ लाई संशोधन गर्न बनेको विधेयक, मानव बेचबिखन तथा ओसारपसार नियन्त्रण (पहिलो संशोधन) विधेयक, बालश्रम निषेध तथा नियमित गर्न बनेको सम्बन्धी विधेयक, आन्तरिक वायुसेवाको दायित्व सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक, मेलमिलाप सम्बन्धी ऐन, २०६८ लाई संशोधन गर्न बनेको विधेयक र कर्मचारी सञ्चय कोष ऐन, २०१९ लाई संशोधन गर्न बनेको विधेयकलाई पनि स्वीकृति प्रदान गरेको छ ।
बैठकले सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागका महानिर्देशक वा उनले तोकेको अधिकृतलाई विदेशी विनिमय सम्बन्धी कसुरको अनुसन्धान अधिकारी तोक्ने निर्णय गरेको छ ।
समस्याग्रस्त सहकारी व्यवस्थापन समितिको सदस्य पदमा खेटराज दाहाल (सिन्धुली)लाई मनोनयन गर्ने निर्णय र प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (छैटौँ संशोधन) नियमावली, २०८३ लाई स्वीकृत गर्ने निर्णय मन्त्रिपरिषद् बैठकले गरेको छ ।




प्रतिक्रिया