मन्त्री वादी र युनिसेफकी प्रतिनिधिबिच भेटवार्ता

मन्त्री वादी र युनिसेफकी प्रतिनिधिबिच भेटवार्ता

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसंख्यक तथा सामाजिक सुरक्षामन्त्री सीता वादी र संयुक्त राष्ट्रसंघीय बाल कोष (युनिसेफ) नेपालकी प्रतिनिधि एलिस अकुङ्गाबिच बुधबार मन्त्रालयमा शिष्टाचार भेटवार्ता भएको छ ।

भेटवार्तामा महिला तथा बालबालिकाको अधिकार, बाल संरक्षण, सामाजिक सुरक्षा, बालविवाह अन्त्य, लैङ्गिक समानता प्रवर्द्धन तथा समुदायमा आधारित सेवा प्रणालीलाई थप सुदृढ बनाउने विषयमा केन्द्रित भएर छलफल भएको थियो ।

नेपाल सरकार र युनिसेफबिच सञ्चालित कार्यक्रमहरूको प्रभावकारिता बढाउने तथा आगामी सहकार्यका प्राथमिकता निर्धारण गर्ने विषयमा समेत विचार आदानप्रदान भएको थियो ।

मन्त्री वादीले महिला, बालबालिका तथा जोखिममा रहेका समुदायको जीवनमा प्रत्यक्ष परिवर्तन ल्याउने नीति तथा कार्यक्रमलाई सरकारले उच्च प्राथमिकताका साथ अघि बढाइरहेको उल्लेख गर्दै बालविवाह अन्त्य, लैङ्गिक हिंसा न्यूनीकरण तथा सामाजिक सुरक्षाको पहुँच विस्तारका लागि विकास साझेदारसँगको समन्वयलाई थप परिणाममुखी बनाइने बताइन् ।

युनिसेफ नेपालकी प्रतिनिधि अकुङ्गाले बाल अधिकार, शिक्षा, पोषण, सामाजिक सुरक्षा तथा सुरक्षित बाल्यकाल सुनिश्चित गर्ने साझा लक्ष्यका लागि नेपाल सरकारसँगको साझेदारीलाई आगामी दिनमा अझ सुदृढ बनाउँदै आवश्यक प्राविधिक तथा कार्यक्रमगत सहयोगलाई निरन्तरता दिने बताइन् ।

भेटवार्तामा उनीहरूबिच बालमैत्री तथा समावेशी समाज निर्माण, महिला तथा बालबालिकामाथि हुने हिंसा न्यूनीकरण, बालविवाह अन्त्य तथा सामाजिक सुरक्षाको प्रभावकारी कार्यान्वयनका लागि दुवै पक्षबिचको सहकार्यलाई अझ व्यवस्थित र परिणाममुखी ढंगले अघि बढाउने विषयमा समेत छलफल भएको मन्त्रालयले जनाएको छ ।