काठमाण्डु – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले पार्टी सचिवालय गठन गर्दै वालेन्द्र शाह ‘बालेन’लाई वरिष्ठ नेतामा सर्वसम्मत मनोनयन गरेको छ ।
बुधबार बसेको केन्द्रीय समितिको बैठकले संगठन सुदृढीकरण, सरकारसँग समन्वय, आगामी स्थानीय तह निर्वाचनको तयारी तथा नागरिक सहजीकरणलगायत विषयमा विभिन्न निर्णय गरेको हो ।
बैठकले पार्टी विधानअनुसार सभापति रवि लामिछानेसहित उपसभापतिद्वय डा. स्वर्णिम वाग्ले र सोबिता गौतम, महामन्त्री विपिन कुमार आचार्य तथा सहमहामन्त्रीहरू असिम शाह, हरि ढकाल र निशा डाँगी सदस्य रहने गरी पार्टी सचिवालय गठन गरेको छ । सभापति लामिछानेको प्रस्तावमा बालेन्द्र शाहलाई पार्टीको वरिष्ठ नेतामा सर्वसम्मत रूपमा मनोनयन गरिएको निर्णय सार्वजनिक गरिएको छ ।
रास्वपाले सुनसरीसहितका जिल्लामा हालै भएका घटनामा ज्यान गुमाएका नागरिकप्रति श्रद्धाञ्जलि अर्पण गर्दै शोकसन्तप्त परिवारप्रति समवेदना व्यक्त गरेको छ । घटनामा घाइते भएका नागरिक र सुरक्षाकर्मीहरूको शीघ्र स्वास्थ्यलाभको कामना गर्दै सामाजिक सद्भाव कायम राख्न आग्रह पनि गरेको छ ।
बैठकले वडा तहदेखि केन्द्रसम्म सम्पन्न प्रथम महाधिवेशनको विस्तृत समीक्षा गर्दै लोकतान्त्रिक अभ्यासका क्रममा देखिएका कमजोरीबाट पाठ सिकेर संगठनलाई थप परिपक्व र सुदृढ बनाउने निर्णय गरेको जनाएको छ । आगामी साउन १८ गतेसम्म प्राप्त संशोधन सुझाव समेटेर बैठक सञ्चालन, सदस्यता, जिम्मेवारी बाँडफाँट तथा विभागसम्बन्धी कार्यविधि पारित गर्ने निर्णय पनि गरिएको छ ।
विभागीय नेतृत्वका लागि इच्छुक केन्द्रीय सदस्य तथा प्रतिनिधिसभा सदस्यबाट स्पष्ट लक्ष्य सहितको ६ महिनाको कार्ययोजना माग गर्ने निर्णय गरिएको छ । सरकारमा सहभागी पार्टीका मन्त्रीहरूसँग प्रत्येक महिना कम्तीमा १ दिन पार्टी कार्यालयमा केन्द्रीय समिति सदस्यहरूको उपस्थितिमा समसामयिक विषयमा अनिवार्य छलफल गर्ने व्यवस्था पनि गरिएको छ ।
आगामी स्थानीय तह निर्वाचनलाई लक्षित गर्दै योग्य, इमानदार र सक्षम उम्मेदवार छनोटका लागि आगामी भदौ १ गतेदेखि ‘क्यान्डिडेट क्लब’का लागि आवेदन खुला गर्ने निर्णय गरिएको छ । ‘अन्तर्राष्ट्रिय युवा दिवस २०२६’ भव्य रूपमा मनाउने तथा त्यसको आयोजक समितिको संयोजकको जिम्मेवारी केन्द्रीय सदस्य कविन्द्र बुर्लाकोटीलाई दिने निर्णय पनि बैठकले गरेको छ ।
रास्वपाले नागरिकका गुनासा प्रत्यक्ष सुन्न र समाधानमा सहजीकरण गर्न केन्द्रीय, प्रदेश र जिल्ला कार्यालयमा नियमित रूपमा पदाधिकारी तथा सदस्यको अनिवार्य उपस्थिति रहने संयन्त्र लागू गर्ने निर्णय गरेको छ । आत्महत्या र आत्मदाहजस्ता संवेदनशील घटनासम्बन्धी सामग्री सामाजिक सञ्जालमा साझेदारी नगर्न पार्टीका सबै तहका सदस्यलाई निर्देशन दिएको छ ।






प्रतिक्रिया