प्रधानमन्त्री बालेनलाई श्रम संस्कृतिले भन्योः सक्नुहुन्न भने हात ठडाउनुस्

प्रधानमन्त्री बालेनलाई श्रम संस्कृतिले भन्योः सक्नुहुन्न भने हात ठडाउनुस्

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु– श्रम संस्कृति पार्टीका सांसद् आरेन राईले देश चलाउन नसक्ने भए पद छाड्न प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) लाई सुझाव दिएका छन् ।

बिहीबार प्रतिनिधिसभा बैठकमा बोल्दै सांसद् राईले देश चलाउन नसक्ने भए ‘हात ढड्याउन’ भनेका हुन् । राईले मुलुकमा उत्पन्न असहज परिस्थितिप्रति सरकार बेखबर रहेको आरोप लगाए ।

राईले भित्र बसेर नहुने भन्दै सरकारलाई बाहिर आउन आग्रह गरे । प्रधानमन्त्रीलाई बाहिर निस्किएर सूचना लिन, जनतासँग संवाद गर्न र शान्ति सुव्यवस्थाका लागि सक्रिय हुन सुझाए ।

‘प्रधानमन्त्रीले अथवा अहिलेको सरकारले देश चलाउन नसक्ने अवस्था हो भने हात ठडाए हुन्छ’, उनले भने, ‘त्यो पाइन्छ, गर्न सकिन्छ । रास्वपा आज दुई तिहाइको नजिक छ । २ सय ८२ सांसद हुनुहुन्छ, कोही न कोहीले त देश लिड गरेर जाला ।’

राईले सरकारलाई जिम्मेवारीबाट नभाग्न चेतावनी दिए । बालेनले अभिभावकविहीन बनाएको आरोप उनले लगाए । ‘देश र जनतालाई यसरी टुहुरो बनाउन पाइन्न,’ राईले भने, ‘सरकार कि त निस्किनुपर्यो, कि सक्दिन भनेर हात ठडाउनुपर्यो ।’