काठमाण्डु– लुम्बिनी प्रदेशको मुख्यमन्त्री परिवर्तन नहुने भएको छ ।
हाल एमाले नेता चेतनारायण आचार्य मुख्यमन्त्री छन् ।
एमाले र नेपाली कम्युनिष्ट पार्टीबीच प्रदेश सरकारहरुमा सत्ता सहकार्यको समझदारी भएपछि काँग्रेस मन्त्रीहरुले सामूहिक राजीनामा दिएका छन् ।
एमालेमा आचार्यको विकल्प खोज्नुपर्ने र निरन्तरता दिनुपर्ने दुई पक्षमा नेताहरु थिए । पूर्वमुख्यमन्त्री लीला गिरी र पूर्वमन्त्री भूमिश्वर ढकाल मुख्यमन्त्रीका आकांक्षी थिए ।
एमाले शीर्ष नेतृत्वले आचार्यलार्ई नै निरन्तरता दिने सहमति गरेको छ ।
अध्यक्ष केपी ओली, उपाध्यक्ष विष्णु पौडेल, महासचिव शंकर पोखरेल, मुख्यमन्त्री आचार्य र पूर्वमुख्यमन्त्री गिरीबीच ओली निवास गुण्डुमा भएको छलफलमा आचार्यलाई नै निरन्तरता दिने सहमति भएको हो ।
आचार्य महासचिव शंकर पोखरेल निकट मानिन्छन् । पछिल्लो समय उनले अध्यक्ष ओलीलाई पनि ‘ब्यालेन्स’ गरेको चर्चा एमाले वृत्तमा थियो ।
मुख्यमन्त्रीका आकांक्षी गिरी उपाध्यक्ष पौडेल निकट हुन् । गिरीले शीर्ष तहमा आचार्यलाई मुख्यमन्त्रीमा निरन्तरता दिने समझदारी भएको जानकारी दिए ।
मुख्यमन्त्रीको निरन्तरता हुने सहमतिसँगै केही दिनमा नेकपाका मन्त्रीहरु सरकारमा सहभागी हुने गिरीको भनाइ थियो ।
दुई दलबीच कोशी, बागमती र लुम्बिनी सरकारको नेतृत्व एमालेले तथा कर्णाली र सुदूरपश्चिम सरकारको नेतृत्व नेकपाले गर्ने सहमति छ ।
मधेस र गण्डकीमा भने प्रदेशसभामा प्रतिनिधित्व गर्ने अरु दलसँगको परामर्शमा सरकार गठन गर्ने दुई दलले बताएका छन् ।




प्रतिक्रिया