काठमाण्डु – सुनसरीको देवानगञ्ज गाउँपालिका–३ मा भएको झडपमा मृत्यु भएका दुई युवकका परिवार र सरकारबीच ७ बुँदे सहमति भएको छ ।
मृतक ओम प्रकाश महता र जय प्रकाश महताका परिवार र गृह मन्त्रालयबिच सहमति भएको हो।
गृहमन्त्री सुधन गुरुङको उपस्थितिमा भएको सहमतिमा पीडित पक्षले राखेका विभिन्न मागहरूलाई सम्बोधन गर्ने प्रतिबद्धता सरकारले जनाएको छ ।
साउन १० गते भएको घटनामा विषयमा बिहीबार राति छलफलपछि गृह मन्त्रालयले पीडित पक्षका मागहरू सम्बोधन गर्ने प्रतिबद्धता जनाएको छ।
सम्झौताअनुसार मृतक दुवैलाई नेपाल सरकारबाट सहिद घोषणा गर्ने प्रक्रिया तत्काल अगाडि बढाइनेछ भने मृतकका परिवारलाई नेपाल सरकारको तर्फबाट १० लाख रुपैयाँ उपलब्ध गराउने सहमति भएको छ।
त्यसैगरी, साउन १० गते राति भएको घटनाको निष्पक्ष छानबिन गरी दोषीमाथि प्रचलित कानुन बमोजिम आवश्यक कारबाही प्रक्रिया तत्काल अगाडि बढाइनेछ।
देवानगञ्ज–३ स्थित मदरसाको कानुनी हैसियत र सम्बन्धित विषयमा आवश्यक छानबिन तत्काल सुरु गरिनेछ। यसबाहेक, प्रत्येक मृतक परिवारका एक जना योग्य सदस्यलाई रोजगारीको अवसर उपलब्ध गराइने र घटना अध्ययनका लागि गठित छानबिन समितिले पेस गर्ने प्रतिवेदनका सुझाव तथा सिफारिसहरू प्रचलित कानुन बमोजिम यथाशीघ्र कार्यान्वयन गरिनेछ।
यस्तै मृतकद्वयको सम्झनामा गाउँपालिकाको उपयुक्त क्षेत्रमा स्थानीय सरकारसँगको समन्वयमा स्मृति पार्क निर्माण गरिनेछ। यससँगै शुक्रबार दिउँसो २ बजे मृतकको अन्तिम संस्कार गर्ने सहमति भएको छ।
सम्झौता पत्रमा पीडित परिवारको तर्फबाट ओम प्रकाश मेहताका अभिभावक र जय प्रकाश मेहताका अभिभावक नरेश मेहताले हस्ताक्षर गरेका छन् भने सरकारको तर्फबाट गृहमन्त्री सुधन गुरुङले हस्ताक्षर गरेका छन् ।





प्रतिक्रिया