प्रहरी महानिरीक्षक कार्कीको अपिल-धार्मिक सद्भाव र राष्ट्रिय एकता कायम गरौँ

प्रहरी महानिरीक्षक कार्कीको अपिल-धार्मिक सद्भाव र राष्ट्रिय एकता कायम गरौँ

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु- नेपाल प्रहरीका महानिरीक्षक दानबहादुर कार्कीले नागरिकलाई शान्ति र सद्भाव कायम राख्न अपिल गरेका छन्।

महानिरीक्षक कार्कीले शुक्रबार भिडियो सन्देश जारी गर्दै देशमा विविधताबिचको एकता पुरानो पहिचान भएको बताएका छन्।

उनले भने, ‘धर्म, भाषा, जाति र संस्कृतिको भिन्नता भए पनि हामी आपसी सम्मान, सहिष्णुता र सद् भावका साथ बसेका छौं।’

पछिल्लो समय पूर्वी तराईका केही क्षेत्रमा धार्मिक सद् भाव बिथोल्ने र त्रास सिर्जना गर्ने गतिविधि बढेकोप्रति प्रहरीले ध्यानाकर्षण गराएको उनले जानकारी दिएका छन्। समाजमा अफवाह फैलाउने, उत्तेजक कुरा गर्ने र कानुन तोड्ने काम कसैको पनि हितमा नहुने उनको भनाइ छ। यस्ता कार्यले तनाव र विभाजन मात्र ल्याउने भएकाले अफवाह र घृणा फैलाउने कुराबाट टाढा रहन उनको आग्रह छ।

कानुनको पालना गर्दै एक–अर्काको धर्म, संस्कृति र आस्थाको सम्मान गर्नुपर्नेमा जोड दिँदै उनले भनेका छन्, ‘हाम्रो धर्म र संस्कृति भिन्न भए पनि देश एकै हो र भावना पनि एकै छ।’ सबैले संयमता अपनाएर आपसी भाइचारा र सामाजिक सद्भाव कायम राख्न प्रहरी प्रमुख कार्कीले अनुरोध गरेका छन्।

उनले सामाजिक सञ्जालमार्फत अफवाह फैलाउने, उत्तेजक अभिव्यक्ति दिने तथा कानुनविपरीत गतिविधि गर्ने कार्य कसैको हितमा नहुने उल्लेख गरेका छन् । यस्ता गतिविधिले समाजमा तनाव, अविश्वास र विभाजन बढाउने भएकाले सबै नागरिकलाई जिम्मेवार र संयमित बन्न उनले आग्रह गरेका छन् ।