काठमाण्डु– कुवेतमा भएको ड्रोन आक्रमणमा एक नेपालीको मृत्यु भएको छ ।
मृत्यु हुनेमा तेह्रथुमका ४४ वर्षीय सोमकुमार तामाङ छन् ।
तामाङ सवारी चालकको रुपमा कार्यरत थिए । कुबेतस्थित नेपाली दूतावासले विज्ञप्तिमार्फत बिहीबार भएको आक्रमणमा तामाङको ज्यान गएको जनाएको छ ।
घटनाबारे जानकारी दिँदै दूतावासले मृतक तामाङप्रति श्रद्धाञ्जली अर्पण गर्नुका साथै शोकसन्तप्त परिवारप्रति समवेदना व्यक्त गरेको छ । दूतावासका अनुसार तामाङको शव नेपाल पठाउन आवश्यक प्रक्रिया अघि बढाइएको छ ।
यस संवेदनशील घडीमा कुवेतमा रहेका सबै नेपालीलाई त्यहाँको सरकारले जारी गरेको सुरक्षासम्बन्धी मापदण्ड पालना गर्दै संयमित भएर सुरक्षित स्थानमा रहन दूतावासले अपिल गरेको छ ।
परराष्ट्र मन्त्रालयले पनि शुक्रबार विज्ञप्ति जारी गर्दै घटनाप्रति दुःख व्यक्त गरेको छ ।
मन्त्रालयले नेपाली नागरिकमाथि भएको आक्रमणको निन्दा गर्दै सबै पक्षलाई संवाद र कूटनीतिक माध्यमबाट समस्याको समाधान गर्न आग्रह गरेको छ ।





प्रतिक्रिया