काठमाण्डु – पाकिस्तानको काराकोरम पर्वतमालामा अवस्थित विश्वको १२औँ अग्लो हिमाल ब्रोड पिकमा गएको भीषण हिमपहिरोमा परी बेपत्ता भएका अन्तर्राष्ट्रिय पर्वतारोहीहरूको खोजी तथा उद्धार कार्य शनिबार पनि जारी रहने भएको छ।
८,०४७ मिटर अग्लो ब्रड पिकमा हिमपहिरोमा परेका अन्तर्राष्ट्रिय आरोहीहरूको खोज तथा उद्धार अभियान शनिबार पुनः जारी रहने पाकिस्थानको गिलगिट–बाल्टिस्तान प्रशासनले जनाएको छ।
शुक्रबार प्रतिकूल मौसम र भारी हिमपातका कारण रोकिएको उद्धार अभियानमा शनिबार थप उद्धार टोली र शेर्पाहरू सहभागी हुने छ ।
गिलगिट-बाल्टिस्तानका कमिश्नर कार्यालयले शुक्रबार जारी गरेको विज्ञप्तिअनुसार पाकिस्तान सेनाको हेलिकोप्टरमार्फत उद्धार गरिएका तीन जनाको शव हाल कम्बाइन्ड मिलिटरी हस्पिटलमा राखिएको छ।
खोजी अभियानका क्रममा चार जना आरोहीको शव फेला परेको छ भने तीन जनाको मात्रै औपचारिक पहिचान भएको छ।
पाकिस्तानी अधिकारीहरूका अनुसार हेलिकोप्टरबाट तीन जनाको शव उद्धार गरी स्कार्दु ल्याइएको छ। जसमा ओमानकी नधिरा अहमद अब्दुल्लाह अल हार्थी, अमेरिकी आरोही सारा म्यालोरी (शरीरका अवशेष) र नेपाली आरोही पुरबहादुर गुरुङ छन् । त्यहाँ उनीहरूको कानुनी प्रक्रिया, पहिचान र आवश्यक औपचारिकता पूरा भइरहेको छ। चौथो शवको बारेमा औपचारिक पहिचान हुन बाँकी रहेको छ।
यो पाकिस्तानको गिलगिट–बाल्टिस्तानको स्कार्दु शहरमा अवस्थित सैनिक अस्पताल हो। स्कार्दु पाकिस्तानको राजधानी इस्लामाबादबाट करिब ३५०–४०० किलोमिटर उत्तर–पूर्वमा पर्छ।
गिलगिट–बाल्टिस्तान पाकिस्तानको उत्तरी हिमाली क्षेत्र हो, जहाँ विश्वका चर्चित काराकोरम पर्वतशृंखला अवस्थित छन्। यही क्षेत्रमा विश्वको दोस्रो अग्लो हिमाल के–टु, ब्रड पिक, ग्यासरब्रुम–१, ग्यासरब्रुम–२ लगायतका ८ हजार मिटरभन्दा अग्ला हिमाल पर्छन्। यो क्षेत्र पाकिस्तानको प्रशासनिक नियन्त्रणमा रहेको स्वायत्त प्रकृतिको हिमाली भूभाग हो र अन्तर्राष्ट्रिय पर्वतारोहणका लागि विश्वकै महत्त्वपूर्ण गन्तव्य मानिन्छ।
आरोहण टोलीमा विश्वप्रसिद्ध नेपाली आरोही निर्मल पुर्जा (निम्स दाइ)सहित नेपाल, अमेरिका, ओमान, चीन, पाकिस्तान तथा बेलायतका पर्वतारोही सहभागी थिए । उक्त हिमपहिरोमा परी पुर्जासहित १० जना आरोही बेपत्ता भएका छन् ।
उक्त टोलीसँग साउन १४ बिहीबार बिहान ९ बजेपछि सम्पर्क विच्छेद भएको थियो । त्यसपछि साँझ करिब ८ बजे क्याम्प–२ बाट क्याम्प–३ तर्फ उक्लँदै गर्दा करिब ६,६०० मिटर उचाइमा हिमपहिरो गएको पुष्टि भएको थियो।
उद्धार अभियानको नेतृत्व पाकिस्तानका चर्चित पर्वतारोही सरबाज खानले गरिरहेका छन्। यो टोलीमा नेपालको इम्याजिन नेपालका आरोही मिङ्मा जी शेर्पा, सोना शेर्पा समेत रहेको सेभेन समिट ट्रेक्स, काठमाण्डुका सञ्चालक छाङदावा शेर्पाले बताए ।
उद्धार अभियानमा पाकिस्तान सेना, स्थानीय उच्च हिमाली उद्धारकर्मी र पर्वतारोहीहरूको संयुक्त समन्वयमा भइरहेको छ ।
शुक्रबार भारी हिमपात, खराब मौसम र अत्यन्त जोखिमपूर्ण उच्च हिमाली अवस्थाका कारण हेलिकोप्टरबाट थप उद्धार सम्भव हुन सकेन । त्यसैले दिनभरको खोजी अभियान स्थगित गरिएको थियो । मौसम सुधारिएपछि शनिबार बिहानदेखि पुनः हेलिकोप्टर र स्थलमार्गबाट खोजी अभियान सञ्चालन गरिने जनाइएको छ। उद्धार टोलीले ड्रोन फुटेज र जीपीएस संकेतहरूको सहायताले क्षेत्रको निगरानी गरिरहेको छ।
१० सदस्यीय उक्त टोलीमा पुर्जा सहित पुरबहादुर गुरुङ (युक्त), किली पेम्बा शेर्पा, निमा शेर्पा, नवाङ थिन्दु शेर्पा र ग्यालु शेर्पा थिए। पाकिस्तानका सोहेल साखी, चीनका वाङ झोङ, ओमानकी नादिरा अहमद र अमेरिकाकी म्यालोरी गेइस पनि बेपत्ता भएका थिए।
बेपत्ता आरोहीहरूबाट प्राप्त अन्तिम जीपीएस स्थानहरूले हिमपहिरोले समूहलाई एक हजार मिटरभन्दा धेरै तल बगाएको देखाएको छ।




प्रतिक्रिया