सुनसरी, जनकपुर र लहानमा कर्फ्यु हटाइयो, निषेधाज्ञा जारी

सुनसरी, जनकपुर र लहानमा कर्फ्यु हटाइयो, निषेधाज्ञा जारी

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – सुनसरीको देवानगञ्जमा भएको हिंसात्मक घटनापछि जारी भएको कर्फ्यु आदेश हटाउँदै स्थानीय प्रशासनले निषेधाज्ञा जारी गरेको छ ।

प्रशासनले जिल्लाका १० स्थानीय तहमा जारी गरिएको कर्फ्यु आदेश हटाउँदै निषेधाज्ञा जारी गरेको प्रमुख जिल्ला अधिकारी इश्वरी प्रसाद अर्यालले बताए ।

प्रशासनले शनिबार जारी गरेको आदेशअनुसार शनिबार बिहान ८ : ३० बजेदेखि कर्फ्यु हटाएर साँझ ५ बजेसम्म निषेधाज्ञा लागू गरिएको हो।

देवानगञ्जमा भएको हिंसात्मक घटनापछि गत साउन १२ गते राति ९ बजेदेखि स्थानीय प्रशासन ऐन, २०२८ को दफा ६(क) बमोजिम कर्फ्यु आदेश जारी गरिएको थियो।

सुरक्षा अवस्थाको समीक्षा गरेपछि प्रशासनले कर्फ्यु हटाएको भए पनि सम्भावित अप्रिय गतिविधि रोक्न निषेधाज्ञा जारी गरेको जनाएको छ।

निषेधाज्ञा अवधिभर तोकिएका क्षेत्रमा एक स्थानमा पाँच जनाभन्दा बढी व्यक्ति भेला हुन, जुलुस, प्रदर्शन, सभा, बैठक तथा धर्ना गर्न पाइने छैन।

निषेधाज्ञा इटहरी उपमहानगरपालिका–१६ र १७ अन्तर्गत महेन्द्र राजमार्गको दायाँ–बायाँ २०० मिटर क्षेत्र, रामधुनी नगरपालिका–१ र ५ अन्तर्गत महेन्द्र राजमार्गको दायाँ–बायाँ २०० मिटर क्षेत्र, इनरुवा नगरपालिका, दुहबी नगरपालिका, भोक्राहा नरसिंह गाउँपालिका, कोशी गाउँपालिका, गढी गाउँपालिका, देवानगञ्ज गाउँपालिका, हरिनगर गाउँपालिका र बर्जु गाउँपालिकामा लागू हुनेछ।

यस्तै जनकपुरधाममा सद्भाव र्‍यालीपश्चात कर्फ्यु हटाएर निषेधाज्ञा जारी गरिएको छ ।

अवस्था तनावग्रस्त बनेपछि गत बिहीबार दिउँसो ३ : ३० बजेदेखि अनिश्चितकालीन कर्फ्यु आदेश जारी गरिएको थियो ।

शनिबार बिहान १० बजेदेखि कर्फ्यु हटाएर निषेधाज्ञा जारी गरेको धनुषाका प्रमुख जिल्ला अधिकारी प्रेमप्रसाद लुटेलले जानकारी दिए ।

सुनसरी घटनापछि जनकपुरधामसहित मधेशका जिल्लाहरुमा विरोध प्रदर्शन भएको थियो । प्रदर्शन रोक्न स्थानीय प्रशासनले कर्फ्यु आदेश जारी गरेको थियो ।

यसैगरी सिरहाको लहानमा पनि जारी कर्फ्यु हटाइएको छ । चर गोलबजारको कर्फ्यु भने जारी राखिएको छ ।

सुनसरीमा दुई समूह बीच भएको झडपलाई नियन्त्रण लिने क्रममा प्रहरीले चलाएको गोली लागेर युवकको मृत्यु भएको विरोधमा गोलबजारमा भएको प्रदर्शनमा औरही गाउँपालिका–२ तुलसियाहीका १५ वर्षीय गणेश यादवको मृत्यु भएको थियो ।

यादवको परिवारसँग सहमति भए पनि गोलबजारमा भने कर्फ्यु यथावत् राखिएको छ । गणेशको शव नल्याउँदासम्म गोलबजारको कर्फ्यु नहटाइने सहायक प्रमुख जिल्ला अधिकारी चेतराज बरालले बताए ।