चितवन – सबैभन्दा बढी सवारीसाधन दुर्घटना गराउने चालक २५ देखि ४० वर्ष उमेर समूहका रहेका छन् ।
बागमती प्रदेशमा भएका सवारी दुर्घटनामध्ये ती उमेर समूहका चालकका कारण हुने गरेको छ ।
नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय रामनगरका अनुसार उपत्यकाबाहेक प्रदेशभित्र भएका १ हजार ९२४ दुर्घटनामध्ये ५४ प्रतिशत अर्थात् १ हजार ४२९ वटा दुर्घटना सो उमेर समूहका चालकले गराएका छन् ।
२५ प्रतिशत अर्थात् ६७९ वटा दुर्घटना १६–२५ वर्ष उमेर समूहका चालकले सवारी चलाउँदा भएको कार्यालयका प्रमुख प्रहरी उपरीक्षक डिल्लीनारायण पाण्डेले जानकारी दिए । उनका अनुसार ४० वर्षमाथिका सवारी चालकले २५ प्रतिशत दुर्घटना गराएका छन् । युवा पुस्तामा सवारी तीव्र गतिमा हाँक्ने जोस बढ्दा दुर्घटना गराउने चालक युवा पुस्ताका बढी भएका हुन् ।
ती दुर्घटनामा परी ज्यान गुमाउनेको संख्या २५ वर्षभन्दा माथि उमेर समूहका धेरै रहेका छन् । सो उमेर समूहका २६७ जनाको मृत्यु भएको छ भने १६–२५ वर्ष उमेर समूहका ५९, छ–१६ वर्ष उमेर समूहका ७ र ६ वर्षदेखि तलका उमेर समूहका ७ जना रहेका छन् । घाइते हुनेको संख्या पनि सोही अनुपातमा रहेको उनले जानकारी दिए ।
गत आर्थिक वर्षमा तीव्र गतिका कारण १ हजार ४१, चालकको लापरबाहीले २४०, यात्रुको गल्तीले १५४, मादक पदार्थ सेवन गरेर सवारी चलाउँदा ११९ र यान्त्रिक गडबडीले १२१ वटा दुर्घटना भएका छन् । सडकको अवस्थाका कारण १०७ वटा ‘ओभरटेक’ गर्दा ७२, मौसमको खराबीले चौपायका कारण १०, ओभरलोड भएर ८ र अन्य कारणले ३८ वटा दुर्घटना भएको उनले जानकारी दिए ।
यस कार्यालयले काठमाण्डु उपत्यकाबाहेक बागमती प्रदेशका १० जिल्ला हेर्दै आएको छ ।




प्रतिक्रिया