चितवन – हिमपहिरोमा परी निधन भएका कीर्तिमानी पर्वतारोही निर्मल पुर्जा ‘निम्स दाइ’को रामनगरस्थित घरका परिवार, छिमेकी र उनले अध्ययन गरेका विद्यालयका शिक्षक शोकमा परेका छन् ।
पाकिस्तानको ‘ब्रोड पिक’ हिमालमा गएको हिमपहिरोमा परी उनको निधनपछि भरतपुर महानगरपालिका–१ रामनगरस्थित परिवारका सदस्य, छिमेकी र अध्ययन गरेको स्मल हेभनका शिक्षक शोकमा परेका हुन् ।
सिंगो चितवन, देश र विश्वभरबाट शोक व्यक्त गरिरहेका बेला रामनगरस्थित माइलादाइ बसिरहेका घरमा आईतबार बिहानैदेखि छरछिमेक तथा आफन्तहरू श्रद्धाञ्जलि दिन आइरहेका छन् । भाइ गुमाउँदा पीडाबोध गरिरहेका दाजु जीतबहादुर पुर्जाले अरु बेला भाइ हिमाल आरोहण गर्दा सधैँ आफूलाई भन्ने गरेको सुनाउँदै यसपटक पाकिस्तान जाँदा केही खबर नगरेको भन्दै उनी भक्कानिए । ‘पहिला हिमाल चढ्दा घरमा धुपबत्ती बाल्देउ है दाइ भन्थ्यो । पाकिस्तान जाने बेलामा चाहिँ मलाई केही नभनी गयो,’ उनले भने । घरमा आएकाहरूसँग उनले भक्कानिँदै पीडा पोखिरहेका थिए ।
निम्स दाइको निधनपछि रामनगरस्थित घरमा आईतबार तस्वीरमा माल्यार्पण गर्नुका साथै दीप प्रज्ज्वलन गरेर उनीप्रति श्रद्धाञ्जलि अर्पण गरिएको छिमेकी जीवनाथ पराजुलीले बताए । उनले भने, ‘हाम्रोभन्दा एक घर परको घरमा निम्सका माइलादाई बस्नुहुन्छ । त्यहाँ राखिएको तस्वीरमा माल्यार्पण गरी श्रद्धाञ्जलि अर्पण गरेका छौँ ।’ उनको निधनले छिमेकी समेत शोकमा परेका तारा कुँवरले बताए । बिहानैदेखि माइलादाइको घरमा श्रद्धाञ्जलि दिन आउनेक्रम जारी रहेको उनले बताए ।
माइलादाइ जीतबहादुर पुर्जा यहाँको घरमा बस्छन् । म्याग्दीको अन्नपूर्ण गाउँपालिका–२ दानामा जन्मिएका उनले यहाँको आँपटारीस्थित स्मल हेभन स्कूलमा ३ देखि १० कक्षासम्म पढेका थिए । सुरुमा आँपटारीमा रहेको स्कूल अहिले कल्याणपुरमा सरेको छ । १० कक्षापछि उनी ब्रिटिस आर्मीका लागि गएका थिए ।
‘म्याग्दीको दानाबाट बहिनी अनितासहित विक्रम संवत् २०५१ सालमा ११ वर्षको उमेरमा ३ कक्षामा अध्ययन गर्न यहाँ आएका निम्सदाइ सानैदेखि आवासमा बस्नुहुन्थ्यो । हालको भरतपुर महानगरपालिका–१ रामनगरमा घर भए पनि निम्स र उनकी बहिनी आवासमा बस्नुहुन्थ्यो,’ उनका खेलकुद शिक्षक सुरेन्द्र बरालले भने । करिब ७ वर्ष निम्ससँग समय बिताएको स्मरण गर्दै उनी सानैदेखि साहासी र अनुशासित स्वभावको भएको बरालले बताए । उनको निधनले आफूलाई पीडाबोध भएको उनको भनाइ छ ।
स्मल हेभन स्कूलका छात्रावास प्रमुख शैलेन्द्र बरालले निम्स विद्यालयको अनुशासित विद्यार्थीका रूपमा रहेका बताए । उनले निम्सको निधनले सिङ्गो विद्यालय स्तब्ध भएको बताए । ८ वर्ष आफ्नै रेखदेखमा रहँदा निम्सको आँट देखेर ‘एकदिन महान व्यक्ति बन्छ’ भन्ने लागेको उनले स्मरण गरे ।
स्मल हेभन स्कुलका प्राचार्य रामचन्द्र न्यौपाने आफ्नो विद्यार्थीले विश्व कीर्तिमान कायम गरेर गिनिज बुकमा नाम लेखाउँदा निकै खुसी भएको स्मरण गर्दै अहिले निम्सको निधनले विद्यालय परिवार मर्माहत र स्तब्ध भएको बताए । सिंगो देश र विश्वले चिनेको आफ्नो विद्यार्थी गुमाउनुपर्दाको क्षण अपूरणीय रहेको भन्दै उनले यसले देशलाई अपूरणीय क्षति पुगेको बताए ।




प्रतिक्रिया