मधेशको जनजीवन सामान्य बन्दै, कर्फ्यु र निषेधाज्ञा क्रमशः हटाइँदै

मधेशको जनजीवन सामान्य बन्दै, कर्फ्यु र निषेधाज्ञा क्रमशः हटाइँदै

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – एक हप्तादेखि अशान्त बनेको मधेशको जनजीवन सामान्य बन्न थालेको छ । जनजीवन सामान्य बन्न थालेपछि विभिन्न स्थानमा जारी गरिएको कर्फ्यु र निषेधाज्ञा क्रमशः हटाउन थालिएको छ ।

सिरहाको गोलबजार क्षेत्रमा लाग्दै आएको कर्फ्यु आइतबार बेलुकी ७ बजेदेखि हटाइएको छ । सुरक्षा अवस्था सामान्य बन्दै गएको निष्कर्षपछि कर्फ्यु हटाउने निर्णय गरिएको जिल्ला प्रशासन कार्यालय सिरहाले जनाएको छ । यस्तै जनकपुरधाम उपमहानगरपालिकालगायत क्षेत्रमा लगाइएको निषेधाज्ञा पनि सोमबार बिहान ५ बजेदेखि हटाइएको छ ।

धनुषा प्रशासनले आन्दोलनरत पक्षले आफ्ना सबै आन्दोलनका कार्यक्रम फिर्ता लिएको, जिल्लाको सुरक्षा अवस्था सामान्य बन्दै गएको तथा जनजीवन क्रमशः सामान्यीकरणतर्फउन्मुख भएको जनाएको छ ।

पछिल्लो सुरक्षा अवस्थाको समीक्षा तथा जिल्ला सुरक्षा समितिको बैठकको निर्णयका आधारमा निषेधाज्ञा हटाउने निर्णय गरिएको जिल्ला प्रशासन कार्यालय धनुषाले जनाएको छ ।

कार्यालयले निषेधाज्ञा हटाइएपछि नागरिकलाई शान्ति, सुरक्षा र सामाजिक सद्भाव कायम राख्दै दैनिक गतिविधि सञ्चालन गर्न आग्रह गरेको छ । प्रशासनको निर्णयसँगै जनकपुरधाम क्षेत्रमा यातायात, व्यापार तथा अन्य सार्वजनिक गतिविधि सहज रूपमा सञ्चालन भएको छ ।

यस्तै सप्तरीमा गएको बिहीवार रातिदेखि लगाइएको कर्फ्यु पनि आइतबार दिउँसोदेखि हटाएर निषेधाज्ञा लगाइएको छ । बोदे बरसाइन र राजविराज क्षेत्रमा लगाइएको कर्फ्यु हटाई त्यस क्षेत्रमा ५ जनाभन्दा बढी भेला हुन नपाइने गरी निषेधाज्ञा लगाइएको हो ।

सुनसरीको देवानगञ्ज, भोक्राह नरसिंह, कोशी र हरिनगर गाउँपालिकामा पनि सोमबार बिहान १० बजेसम्मका लागि निषेधाज्ञा लगाइएको छ । स्थिति सामान्य हुन थालेकाले निषेधाज्ञा क्रमशः हटाउने सप्तरी र सुनसरी प्रशासनले जनाएका छन् ।