काठमाण्डु–मधेस केन्द्रित दलका नेताहरु प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) गणतन्त्र र संघीयताप्रति इमान्दार रहेको निस्कर्षमा पुगेका छन् ।
उनीहरुले आफूलाई बालेन्द्रले चुनावी भाषणका क्रममा जनाएको संघीयताप्रतिको प्रतिबद्धतामा अब शंका नरहेको बताउन थालेका छन् ।
सुनसरीमा गत १० साउनको राति हिन्दू–मुसलमान समुदायबीचको विवादमा गोली चलेपछि मधेसका जिल्लाहरुको वातावरण पनि तरंगित भयो । सिरहा, सप्तरी, धनुषालयतमा प्रदर्शनहरु भए ।
सिरहामा एक युवाको प्रहरीको गोलीबाट ज्यान गयो । वातावरण अशान्त हुँदै गएपछि सामाजिक सदभाव प्रधानमन्त्री शाहले मधेस केन्द्रित दलका नेताहरुलाई शुक्रबार सिंहदरबार बोलाएर सामूहिक छलफल गरे ।
उनले सामाजिक सदभाव कायम गर्नका लागि भूमिका खेलिदिन नेताहरुलाई आग्रह गरे ।
त्यस क्रममा नेताहरुले गणतन्त्र र संघीयताप्रति शाहको प्रतिबद्धता खोजे ।
उनीहरुले रास्वपाको चुनावी सभामा जनकपुरमा शाहले गरेको भाषण र सरकारको कार्यशैलीमा तादात्म्यता नरहेको आरोप लगाए ।
गत महिना चितवनमा सम्पन्न रास्वपा महाधिवेशनले प्रदेश खारेजीको दस्तावेज पारित गरेकामा मधेसवादी नेताले आपत्ति जनाए ।
‘तपाईं जनकपुरमा गएर संघीयताको पक्षमा छु । काठमाण्डु घुम्न मात्र जानुस् । अधिकार जनकपुरमै आउँछ भन्नुहुन्छ’, भेटमा सहभागी मुक्ति पार्टी नेपालका अध्यक्ष राजेन्द्र महतोले भनेका थिए, ‘सरकारको कार्यशैलीमा पनि संघीयताप्रतिको तपाईंको प्रतिबद्धता झल्किँदैन । रास्वपाको चितवन महाधिवेशनले त प्रदेश खारेजी गर्ने दास्तावेज पारित गरिसकेको छ ।’
महतोको भनाइको जवाफ दिने क्रममा उनले संघीयताप्रतिको आफ्नो प्रतिबद्धतामा शंका नगर्न आग्रह गरे । बालेनले संघीय संरचनालाई थप बलियो ,प्रभावकारी र अधिकार सम्पन्न बनाउने गरी सरकार अघि बढेको बताए ।
छलफलकै बीच संविधानसभा सदस्य रामकुमार शर्माले सनातन हिन्दू राज्यसहतिको संघीय गणतन्त्रमा जानुपर्ने राय प्रस्तुत गरे । महतोको प्रश्नमा नरम देखिएका बालेन शर्मासँग केही रिसाए ।
उनले आफु व्यक्तिगत रुपमा हिन्दू सनातनी भएको उल्लेख गरे । तर, मुलुक धर्मनिरपेक्षताबाट पछि फर्कन नसक्ने जवाफ दिए ।
आफूले नियमित रुपमा गीता पाठ र पूजाआजा गर्ने गरेको बताए । यद्यपि देशको प्रधानमन्त्रीका हैसियतमा सबै धर्म सम्प्रदायप्रति सम्मान रहेको स्पष्ट गरे ।
नेपाललाई सनातन हिन्दू राज्य घोषणा गर्न नसकिने प्रमुख कारणमध्ये उनले राजसंस्था भएको उल्लेख गरे ।
सनातन हिन्दू राज्यसँग राजसंस्था जोडिएर आउने भएकाले त्यसतर्फको यात्रा मुलुकको हितमा नरेको प्रष्टीकरण उनको थियो । ‘म सनातनी हुँ । नियमित रुपमा गीता पाठ गर्छु, पूजा गर्छु । तर, हिन्दू राज्यको एजेण्डामा छैन । किन भने हिन्दू राज्यसँग राजसंस्था जोडिएर आउँछ’, शाहले भने, ‘म किन पनि राजसंस्थाको पक्षमा छैन भने, म संघीयतावादी हुँ । राजतन्त्रले संघीयता मान्दैन ।’
प्रधानमन्त्रीको कुरा सुनेपछि उनीप्रतिको आफ्नो दृष्टिकोण परिवर्तन भएको नेता शर्मा बताउँछन् ।
राजनीतिक बजारमा बालेन्द्रलाई राजसंस्थाप्रति नरम र संघीयताविरोधीको संज्ञा दिने गरिएको र आफूले पनि त्यस्तै शंका गर्दै आएको शर्माले उल्लेख गरे । अब भने बालेन संघीय लोकतान्त्रिक गणतन्त्रको पक्षमा रहेको विश्वास आफूलाई भएको उनको भनाइ थियो ।
‘वर्तमान व्यवस्थाप्रति प्रधानमन्त्रीको इमान्दारितामा शंका थियो । तर, हामीसँगको भेटमा जसरी उहाँले म राजतन्त्रको पक्षमा छैन । संघीय लोकतान्त्रिक गणतन्त्रको विकल्पमा जान सक्दिन भन्नुभयो’, शर्माले काठमाण्डु पाटीसँग भने, ‘नेताहरुको बोल्ने एउटा र गर्ने अर्को चरित्र हुन्छ । मैले त्यो प्रतिबद्धता जनाउने बेलामा प्रधानमन्त्रीको ‘बडी ल्याङवेज’ नियालेर हेरेको थिएँ । बडो ‘कन्फिडेन्स’ का साथ उहाँ बोल्दै हुनुहुन्थ्यो ।’
मधेश प्रदेशका पूर्वमुख्यमन्त्री एवं जनता समाजवादी पार्टी नेपालका नेता मोहम्द लालबाबु राउतले पनि प्रधानमन्त्री बालेन्द्रले वर्तमान व्यवस्थाको पक्षमा बलियो गरी उभिएको सन्देश आफूहरुलाई दिएको बताए ।
‘हामीले संघीयता र गणतन्त्रप्रतिको धारणा बुझ्ने कोसिस गरेका थियौं’, राउतले भने, काठमाण्डु पाटीसँग भने ‘संघीयताबाट पछि हट्ने सनातन हिन्दू राज्य घोषणातिर लाग्ने हो भने राजतन्त्र फर्कन्छ, त्यस कारण म हिन्दू राज्यको पक्षमा र संघीयताको विपक्षमा उभिन सक्दिन भन्ने स्पष्ट अभिव्यक्ति उहाँले दिनुभयो ।’
राउतले पनि प्रधानमन्त्रीले आफूले गीता पढ्ने गरेको प्रसंग सुनाएको उल्लेख गरे ।
‘गीता पढ्छु, धर्मशास्त्रको ज्ञान पनि राख्छु । तर, व्यक्तिगत रुची र मुलुक चलाउने जिम्मेवारीमा रहेको व्यक्तिको भूमिकाको बारेमा कुनै द्विविधा छैन भन्नुभयो’, राउतले भने ।
प्रधानमन्त्रीसँगको भेटमा लामो सवाल जवाफ गरेका राष्ट्रियमुक्ति पार्टी नेपालका अध्यक्ष राजेन्द्र महतोले पनि संघीय लोकतान्त्रिक गणतन्त्रप्रति दह्रो प्रतिबद्धता आएको बताए ।
आफूले बालेन्द्र शाह प्रधानमन्त्री बन्ने संघीयतामाथि आक्रमण नगर्ने विश्वासमा मधेसको निर्णयक जनमत पाएर वर्तमान सरकार बनेको नबिर्सन प्रधानमन्त्रीलाई सुझाएको उल्लेख गरे ।
‘हामीले जनकपुरको चुनावी सभामा गरेको प्रतिबद्धता र व्यवहार फरक हुन थालेको विषय उठायौं’, महतोले भने, ‘उहाँले कुनै पनि हालतमा संघीय गणतन्त्रको विपक्षमा नजाने बाचा गर्नुभयो ।’
स्थापित व्यवस्थाको विपक्षमा उभिँदा आफू पनि अप्ठ्यारोमा पर्छु भन्ने सुझबुझ प्रधानमन्त्रीमा पाएको टिप्पणी उनको थियो ।
छलफलमा लोकतान्त्रिक समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुर, मधेस प्रदेशका पूर्वमुख्यमन्त्री लालबाबु राउत नेता राजेन्द्र महतो, जनमत पार्टीका अध्यक्ष डा. सीके राउत, शरतसिंह भण्डारी, समिम मियाँ अन्सारी, आम जनता पार्टीका अध्यक्ष प्रभु साह, संविधानसभा सदस्य रामकुमार शर्मा, रास्वपा सांसद् अमरेशकुमार सिंह, जयकान्त राउतलगायत सहभागी थिए ।




प्रतिक्रिया