सिन्धुली– सिन्धुलीको फिक्कल गाउँपालिका–२ नवलपुरस्थित मध्यपहाडी राजमार्गमा सोमबार भएको सडक दुर्घटनामा कार सुकोशी नदीमा खस्दा चालकसहित तीन जना बेपत्ता भएका छन् ।
प्रहरीका अनुसार काठमाण्डुबाट ओखलढुंगातर्फ जाँदै गरेको बा.प्र.०८–००१ ख०१४४ नम्बरको बस र खोटाङबाट खुर्कोटतर्फ आउँदै गरेको कार एकआपसमा ठोक्किएका थिए ।
ठक्करपछि कार सडकबाट अनियन्त्रित भई सुकोशी नदीमा खसेको हो ।
दुर्घटनामा कार चालक गोलन्जोर गाउँपालिका–१ सिन्धुलीका गणेश थापा र कारमा रहेका रहेका अरु दुई जना बेपत्ता भएका छन् । उनीहरूको अवस्था अझै खुल्न सकेको छैन ।
घटनाबारे जानकारी पाएलगत्तै नेपाल प्रहरी र सशस्त्र प्रहरीको टोली उद्धार तथा खोजीमा खटिएको छ । नदीको बहावका कारण उद्धार तथा खोजी कार्यमा कठिनाई भएको प्रहरीको भनाइ छ ।
नदीमा खसेको कारको नम्बर अझै पहिचान हुन नसकेको प्रहरीले जनाएको छ । दुर्घटनामा संलग्न बसका चालक हेमबहादुर तामाङलाई प्रहरीले नियन्त्रणमा लिई घटनाबारे अनुसन्धान अघि बढाएको छ ।




प्रतिक्रिया