चितवन– नारायणगढ–मुग्लिन सडकखण्डमा सोमबार पटक–पटक पहिरो खस्दा सवारी आवागमन दिनभर प्रभावित बनेको छ ।
बिहान विभिन्न स्थानमा खसेको पहिरो र ढुंगा पन्छाएर सडक सञ्चालनमा ल्याइए पनि दिउँसो मुग्लिन बजार नजिकै पुनः पहिरो खसेपछि सडक पूर्ण रूपमा अवरुद्ध भएको हो ।
सडक डिभिजन कार्यालय भरतपुरका अनुसार मुग्लिन बजार नजिकै दिउँसो २ः१० बजे पहिरो झरेपछि सडक दुईतर्फी बन्द भएको छ ।
पहिरो हटाउन एउटा स्काभेटरपरिचालन गरिएको छ भने थप दुई वटा घटनास्थलतर्फ पठाइएको कार्यालयले जनाएको छ ख। पहिरो हटाएर सडक सञ्चालनमा ल्याउन करिब एक घण्टा मिनेट लाग्ने अनुमान गरिएको छ ।
यसअघि बिहान सिमलताल क्षेत्रमा लेदोसहितको पहिरो खसेको थियो । त्यस्तै तुइन खोला र नाम्सी खोलामा सडकमाथिबाट ढुंगा झरेपछि केही समय सडक एकतर्फी रूपमा सञ्चालन गरिएको थियो ।
सडक डिभिजनका अनुसार बिहान खसेका पहिरो र ढुंगा पन्छाएर करिब १० बजापछि सडक दुवैतर्फ सञ्चालनमा ल्याइएको थियो ।
तर वर्षा जारी रहेकाले सडक पुनः जोखिमपूर्ण बनेको र मुग्लिन क्षेत्रमा फेरि पहिरो खसेपछि यातायात सेवा अवरुद्ध भएको हो ।
हाल पहिरो पन्छाउने काम जारी रहेको जनाउँदै सडक डिभिजन कार्यालयले यात्रुलाई सतर्कता अपनाउन र सडकको पछिल्लो अवस्थाबारे जानकारी लिएर मात्र यात्रा गर्न आग्रह गरेको छ ।




प्रतिक्रिया