आयल निगमको कार्यकारी निर्देशकका लागि ३ जनाको नाम सिफारिस

आयल निगमको कार्यकारी निर्देशकका लागि ३ जनाको नाम सिफारिस

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – नेपाल आयल निगम लिमिटेडको रिक्त कार्यकारी निर्देशक पदमा नियुक्तिका लागि ३ जना उम्मेदवारको नाम सिफारिस गरिएको छ ।

उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले सोमबार सार्वजनिक गरेको सूचनाअनुसार खुला प्रतिस्पर्धात्मक प्रक्रियाबाट कार्यकारी निर्देशक छनोट गर्न गठित सिफारिस समितिले मिति २०८३ साउन १७ गतेको निर्णयअनुसार सबैभन्दा बढी अंक प्राप्त गरेका ३ जना उम्मेदवारको नाम वर्णानुक्रमका आधारमा सिफारिस गरेको हो ।

सिफारिस हुनेमा प्यूठानको नौबहिनी गाउँपालिका–६ निवासी कौशल केसी, धनुषाको नगराइन नगरपालिका–३ निवासी सिए नागेन्द्र साह र सप्तरीको राजविराज नगरपालिका–१३ निवासी सञ्जीव कुमार देव रहेका छन् ।

मन्त्रालयका अनुसार नेपाल आयल निगमको रिक्त कार्यकारी निर्देशक पदका लागि गत असार २ गते सार्वजनिक सूचना प्रकाशित गरी खुला प्रतिस्पर्धाबाट दरखास्त आह्वान गरिएको थियो ।

उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयसम्बद्ध सार्वजनिक निकायमा पदाधिकारी नियुक्ति तथा मनोनयन सम्बन्धी निर्देशिका, २०७८ बमोजिम गठित सिफारिस समितिले प्राप्तांकका आधारमा उत्कृष्ट ३ उम्मेदवारको नाम सरकारसमक्ष सिफारिस गरेको मन्त्रालयले जनाएको छ ।