काठमाण्डु– एमाले अध्यक्ष केपी ओली कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कार्कीलाई जसरी पनि हटाउन उद्धत रहेको विषयमा पार्टी उपमहासचिव योगेशकुमार भट्टराईले नेतृत्वको निर्णय प्रक्रियामाथि सार्वजनिक रूपमा प्रश्न उठाएका छन् ।
मंगलबार सामाजिक सञ्जाल फेसबुकमार्फत धारणा सार्वजनिक गर्दै भट्टराईले कार्कीलाई अकारण मुख्यमन्त्रीबाट हटाउन खोज्नुको कारण माग गरेका छन् ।
उनले अन्य प्रदेशका मुख्यमन्त्रीहरू यथावत रहने र कोशीको नेतृत्व परिवर्तनलाई मात्रै विवादको विषय बनाइनुको औचित्यमाथि प्रश्न गरेका छन् ।
‘बाँकी मुख्यमन्त्रीहरू यथावत रहने, कोशीका मुख्यमन्त्री हिक्मत कार्कीलाई हटाउने नाममा पार्टीभित्र किन रडाको मच्चाउनु परेको हो ?’, उनले लेखेका छन् ।
भट्टराईले मुख्यमन्त्री परिवर्तन गर्नै परे त्यसका लागि स्पष्ट आधार, तर्क र औचित्य देखाउनु चुनौती दिएका छन् ।
यस्ता विषयमा पार्टीको केन्द्रीय निकाय, सम्बन्धित प्रदेश कमिटी र संसदीय दलमा पर्याप्त छलफल गरेर सहमतिमा निर्णय गर्नुपर्ने उनको भनाइ थियो ।
‘बाँकी मुख्यमन्त्रीहरू यथावत रहने कोशीको मुख्यमन्त्री हिक्मत कार्कीलाई हटाउने नाममा पार्टीभित्र किन रडाको मच्चाउनु परेको हो ? कसैलाई बनाउनु परे पनि उचित कारण र तर्क सहित पार्टीको केन्द्रीय निकाय, सम्बन्धित प्रदेशको पार्टी कमिटी र संसदीय दलमा छलफल गरेर टुंग्याउने सुल्टो बाटो किन नहिडेको होला ? भट्टराईले लेखेका छन्, ‘नेतृत्वका उचित बाध्यता थिए भने हामीले पनि समझदारी राखथ्यौ होला नि ? यही काम समझदारीकासाथ पारदर्शी ढंगले गर्न पनि त सकिन्छ नि ? साटसुट, ठोकठाक अनि शक्तिको भाषा किन ? कसैका बारेमा एउटा मापदण्ड अनि अरूका बारेमा थरी थरीका मापदण्ड ? प्रदेश सरकार र मुख्यमन्त्रीको मामला गिजोलेर के पौरखा गर्न खोजको हो ? बेला नकुबेला…भनेझैं ।’
उनले कर्णाली प्रदेशको उदाहरण दिँदै एमालेले विगतमा गठबन्धनका कारण पटक–पटक मुख्यमन्त्री पद त्याग्नुपरेको स्मरण गरेका छन् ।
एमाले–कांग्रेस गठबन्धन बनेपछि भने कर्णालीको नेतृत्व एमालेले नै लिनुपर्ने र वरिष्ठ नेता यामलाल कँडेललाई मुख्यमन्त्री बनाउन आफूहरूले सचिवालय बैठकमै जोड दिएको उल्लेख गरेका छन् ।
भट्टराईले कँडेल नेतृत्वको सरकारले बजेट निर्माण, कार्यान्वयन र सुशासनका क्षेत्रमा सकारात्मक काम गरेको दाबी गर्दै अहिले उनलाई र कर्णाली प्रदेश कमिटीलाई नै ‘सजाय’ दिनुपर्ने अवस्था किन आएको हो भन्ने प्रश्न पनि उठाएका छन् ।
एमाले र नेकपाबीच प्रदेश सरकारहरुमा सत्ता सहकार्यसम्बन्धी सहमति भए पनि कोशीको मुख्यमन्त्री एमालेकै भागमा छ ।
आफूलाई नेतृत्वबाट हटाउन पार्टी रुपान्तरण अभियानमा लागेको भन्दै ओली कार्कीसँग बदला लिने दाउमा छन् ।
कार्कीले भने ओलीले भन्दैमा राजीनामा नदिने हडानमा छन् । उनले हट्नैपरे सचिवालय बैठकबाट निर्णय गराउन ओलीलाई चुनौती दिएका छन् ।




प्रतिक्रिया