काठमाण्डु– श्रम संस्कृति पार्टीका अध्यक्ष हर्कराज राई (साम्पाङ) ले ‘नेपालले पनि धेरै ठाउँमा भारतको जग्गा मिचेको रहेछ’ भन्ने प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) को अभिव्यक्ति हालसम्म पनि संसदको अभिलेखबाट नहटाइनुको कारण माग गरेका छन् ।
मंगलबार प्रतिनिधिसभा बैठकमा बोल्दै उनले उक्त भनाइ अभिलेखबाट हटाउन सभामुख डोलप्रसाद अर्यालसँग माग गरे । राईले सभामुख अर्याललाई पनि नेपालले भारतको भूमि मिचेको भन्ने लाग्छ कि लाग्दैन भन्ने प्रश्न गरे ।
‘हामी यहाँ थुप्रै दिनदेखि प्रधानमन्त्रीज्यूको अभिव्यक्तिलाई सच्याउनुपर्छ भन्ने मागका साथ विरोध गरिराखेका छौं । यो रेकर्डबाट पनि हटाइएको छैन’, उनले भने, ‘तपाईंलाई पनि नेपालले भारतको भूमि मिचेको छ भन्ने लागेरै हो कि किन हो मेटाउनु भएको छैन । यहाँले पनि भनिदिनुभए हुन्थ्यो हामीलाई ।’
राईले सांसदमा सांसदले उठाएका विषय सम्बोधन नहुने प्रवृत्तिप्रति पनि विरोध जनाए ।
उनले राज्य भनेकै सहमति भएको उल्लेख गर्दै भने, ‘हामी यहाँ आउँछौं, बोल्छौं, बोल्नुको को अर्थ के हो ? बोल्ने जाने मात्र हो कि बोलेपछि सुन्नुपर्ने, सुनेपछि बुझ्नुपर्ने र बुझेपछि समझदारी र सहमति हुनुपर्ने जस्तो मलाई चाहिं लाग्छ’, उनले भने ।




प्रतिक्रिया