काठमाण्डु – एलपी ग्यास उद्योग संघ नेपालले बजारमा तत्काल ग्यासको अभाव नभएको दाबी गरेको छ।
संघले मंगलबार अपिल जारी गर्दै ग्यासको आपूर्ति क्रमिक रूपमा सहज हुँदै गएकाले नआत्तिन उपभोक्ताहरूलाई आग्रह गरेको छ ।
संघले हाल भारतबाट ग्यासको आयात नियमित रूपमा भइरहेको छ र आपूर्तिमा कुनै कटौती नभएको स्पष्ट गरेको छ ।
उपभोक्ताहरू विभिन्न स्थानमा एलपि ग्यासका लागि लाइन बस्नु परेको र लाइन बस्दा समेत ग्यास नपाएर भौतारिनु परेको परिस्थितिमा संघले गम्भीर ध्यानाकर्षण भएको जनाएको छ।
संघले विगत केही महिनाको कम आयातका कारण सिर्जिएको प्रभाव अझै बाँकी रहेको उल्लेख गर्दै अहिले १४.२ केजीका पूरा सिलिन्डर वितरण भइरहेको जनाएको छ ।
तर धेरै उपभोक्ताले एकैचोटि खाली सिलिन्डर भर्न ल्याउँदा बजारमा अस्थायी अभाव देखिएको संघको भनाइ छ ।
‘आयात नियमित हुँदा पनि बजारमा ग्यास अभाव देखिनुको मुख्य कारण विगत ६ महिनाको अवधिमा करिब ४५ हजार मेटन ग्यास नियमित खपतभन्दा कम आयात हुँदा आवश्यकताभन्दा धेरै लामो समय आधा सिलिण्डरको प्रयोग हुनु हो। आम उपभोक्तासँग ग्यास पाइपिङका लागि ६ के।जि। भन्दा माथिको सबै खाली सिलिण्डरहरू एकै पटक भर्ने होडबाजी देखिएको छ’ संघले भनेको छ।
संघले कम्तीमा एक महिनासम्म पुग्ने ग्यास मौज्दात भएका उपभोक्तालाई तत्काल लाइनमा नबस्न आग्रह गरेको छ। साथै विक्रेता र उद्योगीलाई पारदर्शी तथा व्यवस्थित ढंगले ग्यास वितरण गर्न र उपभोक्तालाई अनावश्यक रूपमा ग्यास सञ्चय नगर्न अनुरोध गरेको छ।





प्रतिक्रिया