अमेरिका–इरान सम्झौता अन्तिम चरणमा, हर्मुज जलमार्ग ६० दिनका लागि खुल्ने

अमेरिका–इरान सम्झौता अन्तिम चरणमा, हर्मुज जलमार्ग ६० दिनका लागि खुल्ने

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु– अमेरिका, इरान र ओमानबिच हर्मुज जलघाँटीमा समुद्री आवागमन पुनः व्यवस्थित गर्ने अन्तरिम सम्झौता अन्तिम चरणमा पुगेको छ ।

गत महिना अमेरिका–इरानबिच भएको १४ बुँदे समझदारीपत्र (एमओयु) विफल भएपछि बढेको तनाव कम गर्दै युद्धविराम पुनःस्थापना र आणविक वार्ता पुनः सुरु गर्ने उद्देश्यसहित अमेरिकाले बुधबार सम्झौताको घोषणा गर्ने तयारी गरेको एक्सियोसले दुई क्षेत्रीय स्रोत र एक अमेरिकी अधिकारीलाई उद्धृत गर्दै जनाएको छ ।

प्रतिवेदनअनुसार प्रस्तावित व्यवस्थाले ६० दिनका लागि हर्मुज जलघाँटी हुँदै हुने समुद्री यातायात सञ्चालनको अन्तरिम ढाँचा तय गर्ने छ । यस अवधिमा खाडीभित्र प्रवेश गर्ने जहाज इरानी जलक्षेत्रको उत्तरी जलमार्गबाट सञ्चालन हुने छन् भने बाहिरिने जहाजले इरानसँगको समन्वयमा ओमानी जलक्षेत्रको दक्षिणी मार्ग प्रयोग गर्ने व्यवस्था रहने छ । यस अवधिभर कुनै पनि जहाजबाट टोल वा पारवहन शुल्क नलिने सहमति भएको जनाइएको छ ।

सम्झौतामा ३० दिनभित्र मध्य जलमार्गमा राखिएका नौसैनिक बारुदी सुरुङ हटाउने योजना पनि समावेश गरिएको छ । त्यसपछि उक्त मार्गलाई इरान र ओमानबिच हुने स्थायी व्यवस्था अन्तर्गत दुवैतर्फका जहाज आवागमनका लागि प्रयोग गर्ने तयारी रहेको प्रतिवेदनमा उल्लेख छ ।

एक्सियोसका अनुसार ह्वाइट हाउस, ओमान र अन्य क्षेत्रीय मध्यस्थ कर्ताले करिब तीन साता अघि पनि यस्तै समझदारी भएको विश्वास गरेका थिए । तर त्यसपछि इरानले जहाजमाथि आक्रमण पुनः सुरु गरेको आरोप लागेपछि दुई सातासम्म तनाव बढ्दै क्षेत्रीय सुरक्षा अवस्था जटिल बनेको थियो ।

यसबिच अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले खाडी क्षेत्रका साझेदार मुलुकसँग परामर्शपछि कूटनीतिक प्रयासलाई थप समय दिने निर्णय गर्दै इरानविरुद्ध तत्काल व्यापक सैन्य कारबाही नगर्ने निर्णय गरेका थिए । यद्यपि छिट्टै सहमति नभए सैन्य विकल्प खुला रहने चेतावनी पनि उनले दिए थियो ।

प्रतिवेदनका अनुसार वार्तामा ओमान र इरानसँगै कतार, पाकिस्तान र साउदी अरेबियाले पनि मध्यस्थकर्ताको भूमिका निर्वाह गरेका छन् भने ह्वाइट हाउस प्रत्यक्षरूपमा संवाद प्रक्रियामा संलग्न रहेको छ । अमेरिकी विशेष दूत स्टिभ विटकोफले पछिल्ला दिनमा इरानी विदेशमन्त्री अब्बास अराघची र ओमानी विदेशमन्त्री बद्र अल–बुसाइदीसँग पटक–पटक छलफल गरेको एक्सियोसले जनाएको छ ।

दुई क्षेत्रीय स्रोतका अनुसार अराघचीले सप्ताहन्तमै प्रस्तावित व्यवस्थाप्रति सैद्धान्तिक सहमति जनाएका थिए, तर अन्तिम स्वीकृतिका लागि इरानका सर्वोच्च नेता मोजताबा खमेनी र सर्वोच्च राष्ट्रिय सुरक्षा परिषद्को अनुमोदन आवश्यक थियो ।

एक अमेरिकी अधिकारी र एक क्षेत्रीय स्रोतलाई उद्धृत गर्दै एक्सियोसले इरानको नेतृत्वले मङ्गलबार स्वीकृति प्रक्रिया पूरा गरेपछि सम्झौताको औपचारिक घोषणाको बाटो खुलेको जनाएको छ । एजेन्सी