काठमाण्डु– नेपाली कांग्रेसले पछिल्लो परिस्थितिमा प्रधानमन्त्री बालेन शाह नेतृत्वको सरकार अनुत्तरदायी बनेको आरोप लगाएको छ।
बुधबार पार्टी कार्यालय सानेपामा आयोजित पत्रकार सम्मेलनमार्फत प्रवक्ता देवराज चालिसेले पार्टीको धारणा सार्वजनिक गर्दै यस्तो बताएका हुन्।
कांग्रेसले सरकारका १५ प्रमुख असफलता औँल्याउँदै जवाफदेहिताका लागि सरकारको ध्यानाकर्षण गराएको जनाएको छ।
प्रवक्ता चालिसेका अनुसार प्रतिनिधिसभाले हालै पारित गरेको ‘प्रतिनिधिसभा नियमावली’देखि राहदानी खरिद प्रकरण, सुकुम्बासी समस्या, भ्रष्टाचारविरुद्धको दोहोरो मापदण्ड, गृहमन्त्रीसम्बन्धी विवाद, भदौ २३–२४ का घटनादेखि सुनसरीको देवानगञ्ज, कप्तानगञ्ज तथा सिराहासम्मका घटनामा सरकार अनुत्तरदायी रहेको कांग्रेसको आरोप छ।
कांग्रेसले जारी गरेको वक्तव्यमा भनिएको छ, ‘यो सरकार जब नैतिक संकट, राजनीतिक असक्षमता र जनविश्वासको संकटले घेरिन्छ, तब समस्याको समाधान खोज्नुको सट्टा विषयान्तर गर्दै जनताको ध्यान अन्यत्र मोड्ने प्रयासमा लिप्त रहेको देखिन्छ। यसका बावजुद केही यस्ता मुद्दा जीवित रहन्छन्, जसको महत्व न समयले घटाउँछ, न सरकारी प्रयासले छोप्न सक्छ। हामी सरकारको अस्थिरता चाहँदैनौँ।’
कांग्रेसले सुशासन, पारदर्शिता र उत्तरदायित्वका आधारमा सरकार बलियो र स्थिर बनोस् भन्ने आफ्नो चाहना कमजोरी नभएको उल्लेख गरेको छ।
वक्तव्यमा भनिएको छ, ‘हामी कुनै पनि दल वा सरकारको आन्तरिक मामिलामा टिप्पणी गर्न चाहँदैनौँ। तर सरकारका गतिविधिले समग्र लोकतान्त्रिक प्रणाली, संवैधानिक मूल्य र नागरिक अधिकारमाथि प्रश्न उठेका बेला प्रतिपक्ष आफ्नो संवैधानिक र नैतिक जिम्मेवारीबाट मौन रहन सक्दैन। नेपाली कांग्रेस यही लोकतान्त्रिक जिम्मेवारीलाई महसुस गर्दै वर्तमान सरकारको कार्यशैली, निर्णय प्रक्रिया र सुशासनप्रतिको कमजोरी सच्याउन आवश्यक ठान्दछ।’
हेर्नुहोस् पूर्णपाठ













प्रतिक्रिया