काठमाण्डु– सन् २०२७ को एकदिवसीय (ओडीआई) विश्वकप छनोट प्रतियोगिता आगामी वर्ष फेब्रुअरी २२ देखि मार्च २३ सम्म सञ्चालन हुने भएको छ।
अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) ले प्रतियोगितिको मिति तय गरिसकेको भए पनि आयोजनास्थल भने अझै निश्चित भएको छैन।
आईसीसीले जुलाईमा सार्वजनिक गरेको सन् २०२७ विश्वकपको नयाँ संरचनाअनुसार १० टोली सहभागी हुने विश्वकप छनोट प्रतियोगिताको विजेताले १४ टोली सहभागी हुने मुख्य विश्वकपमा सिधै स्थान बनाउनेछ।
छनोटमा दोस्रो, तेस्रो र चौथो हुने टोलीहरूले विश्वकपको पहिलो चरण ‘सुपर सिरिज’ खेल्नेछन्, जहाँबाट शीर्ष स्थान हासिल गर्ने एक टोलीले मुख्य १२ टोलीको चरणमा प्रवेश गर्नेछ।
सन् २०२७ को विश्वकप दक्षिण अफ्रिका, जिम्बाब्वे र नामिबियाका १२ वटा रंगशालामा अक्टोबर ४ देखि नोभेम्बर २१ सम्म आयोजना हुनेछ।
१० टोली सहभागी हुने विश्वकप छनोटमा सेप्टेम्बर ३०, २०२६ सम्मको ओडीआई वरीयताका आधारमा आयोजक दक्षिण अफ्रिका र जिम्बाब्वेलाई बाहेक सबैभन्दा तल्लो स्थानमा रहेका दुई पूर्ण सदस्य राष्ट्र, क्रिकेट विश्वकप लिग–२का शीर्ष चार टोली तथा विश्वकप छनोट प्लेअफबाट छनोट भएका शीर्ष चार टोलीले स्थान पाउनेछन्।
विश्वकप छनोट प्लेअफमा लिग–२ का पुछारका चार टोलीसँगै चुनौती लिगका चार टोली सहभागी हुनेछन्। चुनौती लिगलाई क्रिकेटको तेस्रो तहको प्रतियोगिताका रूपमा लिइन्छ। प्लेअफको ढाँचा भने अझै तय गरिएको छैन। यस आठ टोलीको प्लेअफबाट उत्कृष्ट चार टोली विश्वकप छनोटमा पुग्नेछन्।
च्यालेन्ज लिगमा १२ टोलीलाई दुई समूहमा विभाजन गरिनेछ, प्रत्येक समूहमा ६ टोली रहनेछन्। प्रतियोगिताको चक्रभर प्रत्येक समूहले तीन वटा राउन्ड–रोबिन प्रतियोगिता खेल्नेछ। दुवै समूहका शीर्ष दुई टोली विश्वकप छनोट प्लेअफमा प्रवेश गर्नेछन्।




प्रतिक्रिया