काठमाण्डु– नेपाली कांग्रेसका नेता शेखर कोइरालाले बीपी कोइरालाको जन्मघर मर्मतका लागि भनी सरकारले दिएको २ करोड रुपैयाँ बजेट अस्वीकार गरेका छन्।
शुक्रबार विज्ञप्ति जारी गर्दै कोइरालाले सरकारले दिएको उक्त रकम अस्वीकार गरेका हुन् । उनले २ करोड विनियोजन गरेकोमा नेपाल सरकारप्रति आभार प्रकट गर्दै धन्यवाद व्यक्त समेत गरेका छन् ।
उनले मर्मत तथा सम्हार भनी विनियोजन गरिएको उक्त रकम नैतिकरुपमा स्विकार गर्न असमर्थ रहेको बताएका छन् ।
उनले लेखेका छन् ‘सर्वप्रथम वर्तमान सरकारले संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयमार्फत नागरिक चेतनाको धरोहर तथा नेपालका पहिलो जन निर्वाचित प्रधानमन्त्री विपी कोइरालाको जन्म घर भनी विराटनगर महानगरपालिका–७, कोशी अस्पताल चोक, मोरङ (कोइराला निवास)को मर्मत तथा सम्हारको लागि आ.व. २०८३/८४ को बेजटमा २ करोड विनियोजन गरेकोमा नेपाल सरकारप्रति हार्दिक आभार प्रकट गर्दै म धन्यवाद व्यक्त गर्न चाहन्छु ।’
‘राज्य सामु आम नागरिक जो वञ्चना, अभाव र अनेकन् कष्टमा छन त्यस्ता नागरिकको उत्थानको लागि उपलब्ध सिमित श्रोत र साधनको उपयोग होस भन्दै विनियोजन गरिएको उक्त रकम नैतिकरुपमा स्विकार गर्न असमर्थ छु ।’उनले लेखेका छन् ।
उनले थपेका छन् ‘विपी सम्पुर्ण नेपालीको गाँस, वास र कपासको लागि जीवन भर संघर्षरत रहनु भयो, राज्यले त्यस तर्फ समग्र रुपमा आफुलाई समर्पित गरोस यही नै विपी प्रति सच्चा श्रद्धाञ्जली हुनेछ, यही नै कोइराला निवास प्रति न्याय गरेको ठहरिनेछ ।’





प्रतिक्रिया