काठमाण्डु– प्रतिनिधिसभाअन्तर्गतको कानुन, न्याय तथा मानव अधिकार समितिको शुक्रबार बस्ने तय भएको बैठक स्थगित भएको छ ।
समिति सचिवालयले सूचना जारी गर्दै सभापति समीक्षा बाँस्कोटाको स्वास्थ्यमा समस्या देखिएकाले बैठक स्थगित गरिएको जनाएको छ ।
बैठकमा देशभरका विभिन्न कारागार र हिरासतमा रहेका थुनुवा तथा कैदीबन्दीको मानव अधिकारको अवस्थासम्बन्धी अध्ययन प्रतिवेदन प्रस्तुत गर्ने र त्यसमाथि छलफल गर्ने कार्यसूची थियो ।
यसअघि बुधबार बसेको समिति बैठकले नेपालमा क्रियाशील राष्ट्रिय तथा अन्तर्राष्ट्रिय गैरसरकारी संस्थाहरुको अनुगमन प्रभावकारी बनाउन सरकारलाई निर्देशन दिएको थियो ।
बैठकले एम्नेस्टी इन्टरनेसनल, इन्टरनेसनल कमिसन अफ जुरिस्ट्स (आईसीजे) र ह्युमन राइट्स वाचले सरकारले सर्वोच्चका तीन बहालवाला न्यायाधीशलाई राजीनामा गर्न र राजीनामा नदिए महाअभियोग लगाएर हटाउने दबाब दिएको भन्दै जारी गरेको संयुक्त विज्ञप्तिले नेपालको आन्तरिक मामिलामा दख्खल दिएको ठहरसहित आपत्ति जनाएको थियो ।
समितिले नेपालको न्यायपालिका र संसद्को अधिकारक्षेत्रसँग सम्बन्धित विषयमा जारी गरेको संयुक्त विज्ञप्तिबारे आधार र प्रमाणसहित स्पष्टीकरण लिन सरकारलाई निर्देशन दिएको विषयमा नागरिक अगुवा र अधिकारकर्मीले आपत्ति जनाएका छन् ।
आजको बैकठमा विपक्षी दलका सांसदले क्षेत्राधिकार बाहिर गएर अन्तर्राष्ट्रिय संस्थामाथि निगरानी र छानबिन गर्ने निर्देशन दिएको भन्दै आपत्ति जनाउने तयारी गरेका थिए ।
‘हामीले अघिल्लो बैठकको निर्णयको विरोधमा आफ्ना धारणा राख्ने तयारी गरेका थियौं । सभापतिज्यूको आँखामा समस्या देखिएकोले बैठक स्थगित भयो भनेर फोन आएको छ’, प्रमुख प्रतिपक्षी काँग्रेस सांसद् गीता गुरुङले काठमाण्डु पाटीसँग भनिन् ।




प्रतिक्रिया