काठमाण्डु – नेपाली कांग्रेसका निवर्तमान कार्यबाहक सभापति पूर्णबहादुर खड्काले पार्टीभित्रको विवाद अन्त्य गर्दै सम्पूर्ण एकता कायम गर्न सभापति गगनकुमार थापालाई निर्णायक पहल गर्न आग्रह गरेका छन् ।
खड्काले आईतबार सामाजिक सञ्जाल फेसबूकमार्फत धारणा सार्वजनिक गर्दै पार्टीको आधिकारिकतासम्बन्धी विवादमा सर्वोच्च अदालतले पुनरवलोकनका लागि निस्सा दिएपछिका ३ दिनमा पार्टीकै नेताहरूबाट सामाजिक सञ्जालमा आएका अभिव्यक्तिप्रति चिन्ता व्यक्त गरे ।
उनले मुलुकको राष्ट्रियता प्रतिकूल र संकटापन्न अवस्थामा रहेको तथा लोकतान्त्रिक संविधानमाथि चुनौती उत्पन्न भइरहेको दाबी गर्दै यस्तो अवस्थामा नेपाली कांग्रेसको सम्पूर्ण एकता नै पहिलो अपरिहार्य आवश्यकता भएको उल्लेख गरे ।
खड्काले पार्टीभित्र सहिष्णुता, संवेदनशीलता र सहअस्तित्वको भावना विकास गरी संवाद र सहमतिमार्फत सुदृढ एकता कायम गर्नुपर्नेमा जोड दिए । उनले पार्टीका जिम्मेवार व्यक्तिहरूले व्यक्तिगत महत्वाकांक्षा, अहंकार, घमण्ड, प्रतिशोध र कुण्ठाबाट मुक्त भएर सामूहिक भावनाका साथ पार्टी एकताका लागि तत्काल निर्णायक पहल गर्नुपर्ने बताए ।
सर्वोच्च अदालतको पूर्ण इजलासले पुनरवलोकनका लागि दिएको निस्सा पार्टीलाई सम्पूर्ण एकता गर्ने अन्तिम अवसर भएको खड्काको भनाइ छ ।
उनले कांग्रेस सभापति थापालाई विशेष आग्रह गर्दै पार्टीको सम्पूर्ण एकताका लागि साहस र हिम्मतका साथ तत्काल अग्रसर हुन आह्वान गरे । ‘निर्णायक तपाईं हो’ भन्दै खड्काले एकताका लागि आफूहरू सहयोगी बन्न तयार रहेको सभापति थापालाई आग्रह गरेका छन् ।
पार्टी एकताका लागि वातावरण निर्माण गर्न कांग्रेस तथा भ्रातृ र शुभेच्छुक संस्थाका सबै तहका नेता तथा कार्यकर्तालाई समेत खड्काले अपिल गरेका छन् ।
राष्ट्र रहे बहुदलीय लोकतन्त्र र पार्टी रहने भन्दै उनले राष्ट्रियता र लोकतान्त्रिक व्यवस्थामाथि संकट उत्पन्न भएको अवस्थामा पार्टीभित्रको विवाद र सामाजिक सञ्जालमा हुने आरोप–प्रत्यारोपले समस्या समाधान नगर्ने बताए ।
खड्काले सामाजिक सञ्जालमा हुने दोहोर गालीगलौजको प्रवृत्ति तत्काल रोक्न समेत पार्टीका सबै पक्षलाई आग्रह गरेका छन् ।




प्रतिक्रिया