काठमाण्डु– अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले गत महिना टर्कीमा भएको नाटो शिखर सम्मेलनबाट फर्किने क्रममा सम्भावित सुरक्षा खतराका कारण आफूले गोप्य रूपमा विमान परिवर्तन गरेको पुष्टि गरेका छन्।
ट्रम्पले पत्रकारहरूसँग भने, ‘मलाई फरक उडान र फरक विमानमा जानुपर्ने कुरा सुरक्षा सेवा र सेनाले भनेका थिए। मैले उनीहरूले भनेअनुसार गर्नुपर्छ।’
गत जुलाई ८ मा टेलिभिजनका क्यामेरासामु ट्रम्प एयर फोर्स वनमा चढेको देखिए पनि पछि उनलाई क्याटरिङ ट्रकको सहायताले अर्को सैन्य विमानमा सारिएको विवरण सार्वजनिक भएको थियो।
अन्तिम समयमा गरिएको विमान परिवर्तनले ‘डिक्यो’ विमानमा रहेका मानिसहरूलाई जोखिममा पारिएको हो कि होइन भन्ने प्रश्न उठेको छ। तर ट्रम्पले आफू चढेको सैन्य विमान नै अझ बढी जोखिममा रहेको दाबी गरेको बीबीसीले लेखेको छ ।
अमेरिकी साझेदार सीबीएस न्युजलाई अधिकारीहरूले अमेरिकाले ट्रम्प सवार विमानमाथि इरानले क्षेप्यास्त्र प्रहार गर्न सक्ने विश्वसनीय खतरा पत्ता लगाएको बताएका छन्। द न्युयोर्क टाइम्सका अनुसार अमेरिकी गुप्तचर निकायले नाटो सम्मेलनस्थलनजिकै काँधमा राखेर प्रहार गर्न मिल्ने क्षेप्यास्त्र बोकेको एक व्यक्ति देखिएको सूचना पाएको थियो।
राष्ट्रपतिसँगै विमानमा रहेका पत्रकार र ह्वाइट हाउसका केही कर्मचारीलाई समेत ट्रम्पलाई सम्भावित इरानी खतराबाट जोगाउन गोप्य योजनाअन्तर्गत विमानबाट निकालिएको जानकारी थिएन।
ट्रम्पले यसअघि अंकारा सम्मेलनका क्रममा आफू इरानको नम्बर एक निशाना भएको बताएका थिए।
मंगलबार ओहायोमा आयोजित कार्यक्रममा एयर फोर्स वनमा पत्रकारहरूसँग कुरा गर्दै ट्रम्पले भने, ‘त्यहाँ कुनै खतरा थियो होला। मैले त्यसबारे धेरै सोधिनँ। मलाई धेरै धम्की आउँछन्।’
उनले थपे, ‘तपाईंहरूलाई थाहा नभएका धेरै धम्कीहरू पनि ममाथि छन्।’
गत महिना गरिएको यो गोप्य विमान परिवर्तन अमेरिकाले इरानमाथि पुनः सैन्य हमला सुरु गरेको एक दिनपछि भएको थियो। वासिङ्टन र तेहरानबीच युद्ध अन्त्य गर्ने वार्ता असफल भएपछि अमेरिकाले इरानमाथि सैन्य कारबाही पुनः सुरु गरेको थियो।
ट्रम्प टर्की पुग्दा कतारले उपहारस्वरूप दिएको नयाँ बोइङ ७४७–८ विमानमा सवार थिए। तर फर्किने क्रममा उनले “पुरानो समय सम्झन” भन्दै पुरानो एयर फोर्स वन प्रयोग गर्ने घोषणा गरेका थिए।
जुलाई ८ मा अंकारा विमानस्थलमा ट्रम्प राष्ट्रपति विमानमा चढेको दृश्य सार्वजनिक भएको थियो। तर द वासिङ्टन पोस्टका अनुसार उनी विमानमा चढेको विपरीततर्फबाट विमानको उचाइसम्म उठाइएको क्याटरिङ ट्रकमा चढेर एयर फोर्स वनबाट गोप्य रूपमा बाहिरिएका थिए। त्यसपछि उनलाई अर्को सैन्य विमानमा सारिएको थियो।




प्रतिक्रिया