काठमाण्डु– नेपाली कांग्रेसका संसदीय दलका नेता भीष्मराज आङ्देम्बेले रवि लामिछाने र बालेन शाहले विदेशिएका नेपाली युवालाई स्वदेश फर्काउने चुनावी प्रतिबद्धता कार्यान्वयन गर्न नसकेको बताएका छन् ।
आङ्देम्बेले चुनावअघि सत्तारूढ दलका नेतृत्वले अमेरिका, क्यानडा र युरोपसम्म पुगेर सरकार गठन भएको १०० दिनभित्र विदेशिएका नेपाली युवालाई स्वदेश फर्काउने घोषणा गरेको स्मरण गराउँदै अहिले त्यसको कार्यान्वयन खोइ भन्दै प्रश्न गरेका हुन्।
अन्तर्राष्ट्रिय युवा दिवसका अवसरमा बुधबार शुभकामना सन्देश जारी गर्दै उनले रोजगारी, सुशासन र विदेशिएका युवालाई स्वदेश फर्काउने विषयमा सरकार चुकेको बताएका हुन् ।
उनले सरकारले प्रतिबद्धता पूरा नगर्दा युवाहरूमा फेरि निराशा बढेको दाबी गरेका छन्।
उनले लेखेका छन् ‘जबकि, चुनावअघि अमेरिका, क्यानडा र युरोपका गल्लीगल्लीमा पुगेर सरकार बनेको १०० दिनमै स्टिकर टाँस्ने र विदेशिएका नेपाली युवालाई स्वदेश फर्काउने घोषणा सत्तारूढ दलकै नेतृत्वले गरेका थिए, जुन कुरा युवाजनले बिर्सिएका छैनन्। तर, सरकार गठन भएको साढे चार महिना बितिसक्दा पनि एक जना युवालाई स्वदेश फर्काउन नसक्नु गम्भीर प्रश्न हो। यसले युवाहरू फेरि बिस्तारै निराशातिर फर्किएको महसुस हुन थालेको छ।’
सरकार गठन भएको साढे चार महिना बितिसक्दा पनि एक जना युवालाई स्वदेश फर्काउन नसक्नु गम्भीर विषय भएको उनले बताएका छन्।
उनले जेनजी विद्रोह र त्यसपछिको निर्वाचनबाट युवाले रोजगारी, सुशासन, जवाफदेहिता र देश निर्माणको अपेक्षा गरेको भन्दै सरकारले ती विषयमा ठोस काम गर्न नसकेको आरोप लगाए।
जेनजीले खोजेको रोजगारी कहाँ सिर्जना भयो ? उनीहरुले चाहेको सुशासन कहाँ छ ? विदेशिन बाध्य युवालाई स्वदेश फर्काउने योजना कहाँ छ ? उनले प्रश्न गरे ।
आङ्देम्बेले विदेशबाट फर्किएका युवाको ज्ञान, सीप, प्रविधि र पुँजीलाई स्वदेशमै परिचालन गर्न ‘रिटर्नी युवा उद्यमशीलता’ सम्बन्धी ठोस नीति ल्याउनुपर्ने बताए।
‘युवालाई मतदान गर्ने जमात मात्रै होइन, राष्ट्र निर्माणको नेतृत्व गर्ने शक्तिका रूपमा राज्यले स्वीकार गर्नुपर्छ। विदेशबाट फर्किएका युवाको ज्ञान, सीप, प्रविधि र पुँजीलाई स्वदेशमा परिचालन गर्न ‘रिटर्नी युवा उद्यमशीलता’को ठोस नीति आवश्यक छ। तीनै तहका सरकारले युवाको सहभागिता, नेतृत्व र सिर्जनशीलतालाई विकासको केन्द्रमा राख्नुपर्छ।’ उनले भने




प्रतिक्रिया