काठमाण्डु – नेपाली कांग्रेसको इतर समूहको राष्ट्रिय भेला काठमाण्डुको सुकेधारास्थित मिराकल पार्टी प्यालेसमा हुने भएको छ ।
राष्ट्रिय भेला आयोजक समितिको प्रचार प्रसार उपसमितिका संयोजक मीन विश्वकर्माका अनुसार साउन २९ गतेदेखि ३१ गतेसम्म भेला हुनेछ ।
भेलाको प्रमुख अतिथि पूर्वसभापति शेरबहादुर देउवा रहने छन् भने भेला आयोजक समितिका संयोजक डा.शशांक कोइरालाको सभापतित्वमा हुनेछ ।
भेलाको उद्घाटन साउन २९ गते दिउँसो १ बजे हुनेछ । पहिलो दिन उद्घाटन सत्र हुने र बाँकी २ दिन बन्द सत्र हुने छ ।
भेलामा पाँच हजार नेता–कार्यकर्ताहरूको उपस्थिति हुने अनुमान गरिएको छ ।
देउवा बिहीबार मध्यान्ह साढे १२ बजे थाइल्याण्डबाट काठमाण्डु आउँदैछन् ।
विश्वकर्माका अनुसार भेलामा पेस हुने प्रतिवेदन लेखनको तयारी अन्तिम चरणमा पुगेको छ । । ‘प्रतिवेदन आज साँझसम्म टुङ्ग्याएर प्रेसमा पठाउने तयारी गरेका छौँ’, उनले भने ।




प्रतिक्रिया