हामी ४ महिनादेखि सरकारमा छौँ, माइतीघरमा अझै भीडभाड देख्छु : सभापति लामिछाने

हामी ४ महिनादेखि सरकारमा छौँ, माइतीघरमा अझै भीडभाड देख्छु : सभापति लामिछाने

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेले युवा नेतृत्वमा सरकार बनेको ४ महिनासम्म पनि माइतीघर मण्डलामा भीडभाड कायमै रहेकोप्रति चिन्ता व्यक्त गरेका छन् ।

बुधबार अन्तर्राष्ट्रिय युवा दिवसका अवसरमा आयोजित कार्यक्रममा बोल्दै लामिछानेले सरकारको नेतृत्वमा आएको ४ महिना बितिसक्दा पनि नागरिकका आवाजहरू उस्तै रहेको बताए ।

‘हामी ४ महिनादेखि सरकारको नेतृत्व गरिरहेका छौँ तर आवाजहरू उस्तै देखिएका छन् । म माइतीघरमा अझै पनि भीडभाड देखिरहेको छु । आशा मरेर हो कि बानी परेर हो ? मैले छुट्याउन सकेको छैन । बानी परेको पो हो कि भनेर चिन्ता लागेको छ,’ उनले भने ।

नागरिकलाई निराश बनाउने बानी परेको अवस्थामा कसैले पनि तृप्त पार्न नसक्ने भन्दै उनले सरकारबाट तत्काल परिणाम खोज्ने प्रवृत्तिप्रति पनि सचेत हुनुपर्ने बताए ।

लामिछानेले युवा सांसद तथा मन्त्रीहरूलाई प्राप्त जिम्मेवारीलाई अवसरका रूपमा मात्र नलिई गम्भीर भएर काम गर्न आग्रह गरे । अहिलेको पुस्ताले जिम्मेवारी पूरा गर्न नसके आगामी पुस्ताका युवाले पनि यस्तै अवसर नपाउन सक्ने उनको चेतावनी छ ।

उनले भने, ‘४ महिनामा केही भएन भन्ने उस्तै आवाज आइरहँदा त कसरी सकिएला र ? आजको भोलि नै परिणाम खोज्ने बानी पार्यौँ भने हामीसँग विकल्प खोज्नेबाहेक विकल्प हुँदैन । विकल्प खोज्नु विकल्प होइन, विकल्प बन्नु विकल्प हो । म युवा सांसद र मन्त्री साथीहरूलाई भन्न चाहन्छु, तपाईंहरूले जुन जिम्मेवारी प्राप्त गर्नुभएको छ, पदमा रमाउने बेला होइन यो । जिम्मेवार भएर सोच्ने बेला हो । यसपटक गलत भयो, बिग्रियो भने फेरि भोलिका पुस्ताका युवाहरूले हाम्रो जस्तो अवसर प्राप्त गर्ने छैनन् ।’

विगतमा राजनीतिमा युवा नेतृत्वको अभाव रहेको भन्दै उनले उमेरका आधारमा अनुभवी पुस्तामाथि प्रश्न उठाउने गरेको समेत स्वीकारे । उनले भने, ‘हामीले सधैँ राजनीतिलाई कचकच गरिरह्यौँ । मैले पनि गरेँ । एउटा ठाउँबाट युवा नेतृत्व नै भएन, युवाहरूले चलाउनुपर्ने देश खै त युवा भनेर उमेरले पाका भएका मानिसहरूलाई सम्भवत: अपमानित पनि गर्‍यौँ, अपहेलित पनि गर्‍यौँ । उमेरकै कारणले अनुभवी पुस्तालाई हामीले सम्मान दिन सकेनौँ कि भन्ने कुरा म आज यहाँ उभिँदा महसूस गर्छु ।’