काठमाण्डु – राष्ट्रिय सभाका अध्यक्ष नारायण प्रसाद दाहालसँग नवनियुक्त प्रमुख निर्वाचन आयुक्त मानबहादुर कार्की र निर्वाचन आयुक्तद्वय गुरुप्रसाद वाग्ले र डा. राजीव सुब्बाले भेट गरेका छन् ।
शिष्टाचार भेटका लागि सिंहदरबारस्थित अध्यक्ष दाहालको कार्यकक्षमा आएका नवनियुक्त प्रमुख निर्वाचन आयुक्त र आयुक्तहरूलाई अध्यक्ष दाहालले बधाई ज्ञापन गर्नुका साथै कार्यकाल सफलता शुभकामना व्यक्त गरे ।
सो अवसरमा अध्यक्ष दाहालले निर्वाचन आयोगको जिम्मेवारी निष्पक्ष, सन्तुलित र प्रभावकारी रूपमा पूरा गर्न सफल हुनेमा आफू विश्वस्त रहेको बताए । राष्ट्रिय सभामा सुदूरपश्चिम प्रदेशबाट प्रतिनिधित्व गर्ने निर्वाचित १ सदस्य खाली रहेको स्मरण गराउँदै अध्यक्ष दाहालले सरकार लगायत अन्य पक्षसँग समन्वय गरी निर्वाचनको प्रक्रिया अगाडि बढाउन आग्रह गरेका छन् ।
भेटमा प्रमुख निर्वाचन आयुक्त कार्कीले संविधान, ऐन कानुनको अधीनमा रही आफूले निर्वाचन आयोगको जिम्मेवारी पूरा गर्न कुनै कसर बाँकी नराख्ने बताएका छन् ।




प्रतिक्रिया