काठमाण्डु – नेपाल प्रहरीले आर्टिफिसियल इन्टेलिजेन्स (एआई) तथा प्रविधिको दुरुपयोग गरी कृत्रिम फोटो तथा भिडियो निर्माण गर्ने, भ्रामक सूचना फैलाउने र व्यक्तिको चरित्रहत्या गर्ने गतिविधि बढेको भन्दै आम नागरिकलाई सचेत गराएको छ ।
नेपाल प्रहरी प्रधान कार्यालय साइबर ब्यूरो भोटाहिटीले बुधबार सार्वजनिक गरेको सचेतनामूलक विज्ञप्तिमा पछिल्लो समय एआई प्रविधिको दुरुपयोग गरी सामाजिक सञ्जाल तथा डिजिटल प्लेटफर्ममार्फत विभिन्न व्यक्ति तथा संघसंस्थाका कृत्रिम फोटो तथा भिडियो सिर्जना गर्ने गतिविधि भइरहेको जनाएको हो ।
ब्यूरोका अनुसार व्यक्तिको चरित्रहत्या गर्ने उद्देश्यले श्रव्यदृश्य सामग्री तथा अभिव्यक्ति प्रसारण गर्ने र आम जनमानसमा त्रास सिर्जना गर्ने कार्यसमेत भइरहेका छन् ।
साइबर ब्यूरोले यस्ता गतिविधि नैतिक रूपमा गलत हुनुका साथै कानुनी रूपमा समेत दण्डनीय रहेको स्पष्ट पारेको छ । प्रविधिको दुरुपयोग गरी समाजमा त्रास सिर्जना गर्ने वा व्यक्ति तथा संघसंस्थाको चरित्रहत्या गर्ने कार्यमा संलग्नलाई प्रचलित कानुनबमोजिम कडा सजाय हुन सक्ने ब्यूरोले जनाएको छ ।
अनलाइन माध्यममा भेटिने हरेक सूचना तथा सामग्रीलाई तत्काल विश्वास नगर्न र आधिकारिक तथा विश्वसनीय स्रोतबाट मात्र सूचना लिन साइबर ब्यूरोले आमनागरिकलाई आग्रह गरेको छ ।
साइबर ब्यूरोका प्रवक्ता एवं सूचना अधिकारी प्रहरी उपरीक्षक दिलीप कुमार गिरीले जारी गरेको विज्ञप्तिमा एआई तथा डिजिटल प्रविधिको जिम्मेवार प्रयोग गर्न र प्रविधिको दुरुपयोगबाट सिर्जना हुने भ्रामक सामग्रीप्रति सचेत रहन सर्वसाधारणलाई अनुरोध गरिएको छ ।





प्रतिक्रिया